यी हुन् आजको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरू


काठमाण्डु – सिंहदरबारमा बसेको शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ८ निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले कर प्रणालीको सुधारका लागि पूर्व मन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गर्ने, साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महशुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने, सिँचाइ नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानून समेतको अध्ययन गरी ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने र हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० स्वीकृत गर्ने, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने, प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायी रूपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement