काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । सरकार गठन भएको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार गर्दै देउवाले गैरसांसद हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
देउवाले आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराका आफन्त (जेठान) हुन् । यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेर उक्त समाचार पुष्टि गर्न चुनौती दिएको थियो ।
त्यस्तै प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले उनी मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा राखेका थिए । तर प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको आशंकालाई गैरसांसद हमालको नियुक्तिले सही सावित गरिदिएको छ ।
उनले मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेको र आजै साँझसम्म शपथ खुवाउने तयारी भइरहेको स्रोतले बतायो । देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।
त्यस्तै, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चारको जिम्मेवारी दिएका हुन् । उनी कानुनमन्त्रीका रुपमै सरकारको प्रवक्ता समेत थिए । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन् ।
त्यस्तै, नेकपा एकिकृत समाजवादीबाट रामकुमार झाँक्री संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले सहरी विकासमन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले सुरु देखिनै महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।
प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन् ।





प्रतिक्रिया