काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले सोमबार अपराह्न ५ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।
नियमित रुपमा बस्ने भए पनि आज कोरोना संक्रमण बढेका क्षेत्रमा लकडाउनका विषयमा निर्णय हुने बालुवाटार निकट स्रोतले जानकारी दियो । सरकारले कोरोना संक्रमणदर उच्च भएका स्थानहरुमा लकडाउन गर्ने तयारी गरिरहेको छ ।
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आजदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित, विदेशबाट आउने हवाई यात्रुहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने, भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो ।
आजको बैठकले यी सबै विषयमा आवश्यक निर्णय लिने बताइएको छ । सीसीएमसीको निर्णय मन्त्रिपरिषद् बैठकले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।




प्रतिक्रिया