मन्त्रिपरिषद बैठक : नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन १५ प्रतिशतले वृद्धि

मन्त्रिपरिषद बैठक : नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन १५ प्रतिशतले वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलमा कृषि तथा पशुपक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले नेपाल पुनरबीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  बैठकले कोडिभ–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।

त्यसैगरि बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन दररेटमा १५ प्रतिशतले वृद्धि गरेको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेका थिए। यसअघि रासन वृद्धिको घोषणा गरिएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन ।