काठमाण्डु – सरकारले मन्त्रिपरिषद बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र काकीले जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १९ निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले सार्वजनिक खरिद पुनरवलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ नियुक्ति गरेको छ ।
त्यस्तै नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्य दूत राजेशबाबु श्रेष्ठलाई अस्ट्रियाबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर र द ब्रिगेड अफ गुर्खाजका भूपू सैनिकहरु धर्मराज तामाङ र वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पाइर मेडल पदक ग्रहण गर्न स्वीकृति दिने लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
यी हुन् बैठकका निर्णय
१. सार्वजनिक खरिद पुनरवलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले दिएको राजीनामा स्वीकृत गर्ने ।
२. सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्ष पदमा नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीबाट अवकाशप्राप्त हुनुभएका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने ।
३. एपीजी (एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ) को मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताको लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।
४. मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाललाई रातमाटे सबस्टेसन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने ।
५. जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ३६ करोड ६२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
६. मिति २०७९ असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने ९० सेकेन्ड एनुअल जनरल मिटिङ अफ द बैंक फर इन्टरनेशनल सेटलमेन्ट विषयक कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृति दिने ।
७. राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने ।
८. २०७९ असार ६ देखि १३ गतेसम्म थाइल्यान्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कशप अन इन्क्लुसिभ फाइनान्सिङ अप्सन्स फर एमएसएमबीएस क्रिएटिभ्स विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृति दिने ।
९. २०७९ असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान द्विपक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतर्फबाट सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।
१०. नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्य दूत राजेशबाबु श्रेष्ठलाई अस्ट्रियाबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर र द ब्रिगेड अफ गुर्खाजका भूपू सैनिकहरु धर्मराज तामाङ र वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पाइर मेडल पदक ग्रहण गर्न स्वीकृति दिने ।
११. नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरुमध्ये प्रा सुदर्शन नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने ।
१२. नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रमसम्झौता स्वीकृत गर्ने ।
१३. दक्षिण कोरियाको सोलमा २०७९ असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वर्ल्ड टुरिज्म इन्डस्ट्री कन्फरेन्स २०२२ र द ३७औँ सोल टुरिज्म फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृति दिने ।
१४. तारागाउँ विकास समितिको अध्यक्षमा सुरेशराज जोशी र सदस्यसचिवमा महेन्द्र कुमार थापालाई नियुक्त गर्ने ।
१५. २०७९ असार ८ देखि १० गतेसम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरुको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी जनाउन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति दिने ।
१६. निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणको कार्यलाई २०७९ असार मसान्तसम्म निरन्तरता दिने ।
१७. सरकारी जग्गा दर्ता तथा लिज उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७८ लाई स्वीकृत गर्ने ।
१८. सरकारी सम्पत्ति तथा निजी जिन्सी, मालसामान लिलाम बिक्री तथा मिनाहासम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने ।
१९. उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने ।




प्रतिक्रिया