मन्त्रिमण्डल विस्तारमा प्रचण्डको दौडधुप, देउवालाई सकस

मन्त्रिमण्डल विस्तारमा प्रचण्डको दौडधुप, देउवालाई सकस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदबाट विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई सबै दललाई मिलाएर सरकार बनाउनुपर्ने दबाब छ ।

आफ्नै पार्टीभित्र पनि इतर समूहले उपप्रधानमन्त्री मागेको छ भने गठबन्धनका सबै दललाई मिलाएर लैजानुपर्ने छ । नेकपा एमालेको माधव नेपाल पक्षलाई पनि सरकारमा समेट्नुपर्ने देउवालाई दबाव छ ।

असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत पद तथा गोपनियताको शपथ खाएका देउवाले एक हप्ता पुग्दासमेत नयाँ मन्त्रीको नाम टुंगो लगाउन सकेका छैनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एमाले नेपाल समूहलाई मिलाएर सरकारमा सहभागी गराउन समस्या परेको हो ।

प्रधानमन्त्री देउवाले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । मंगलबार बिहान नेता नेपालसँग भेट गरेर बालुवाटार पुगेका प्रचण्डले देउवासँग मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गरेका हुन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले नेपाल र देउवासँग मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भएको पुष्टि गरे । उनले गठबन्धनका राजनीतिक दलबीच साझा रुपमा अगाडि बढ्ने विषयमासमेत छलफल भएको जानकारी दिए ।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माधव नेपाल पक्षका कारणले मन्त्रिमण्डल गठनमा ढिलाई भएको जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले माधव नेपाल पक्षलाई पनि सहभागी गराउने गरी तयारी गरिरहनु भएको छ । उहाँहरुको निर्णय आउनेबित्तिकै मन्त्रिमण्डल विस्तार हुन्छ,’ उनले भने ।

सभापति देउवालाई अहिले पार्टीभित्रबाट मन्त्रीका आकांक्षी धेरै हुँदा समस्या थपिएको छ । छायाँ सरकारमा मन्त्री भएका र ती बाहेकका नेताहरुले मन्त्रीमा आकांक्षा देखाउँदा समस्या आएको कांग्रेस नेताहरुको बुझाई छ । संस्थापन पक्षबाट देवेन्द्रराज कँडेल, पुष्पा भुषाल, मिनेन्द्र रिजाल, लगायतका नेताहरु छन्, इतर पक्षबाट सुजाता कोइराला, गगन थापा लगायतले आकाक्ष्ाां देखाएपछि देउवालाई मन्त्रीको टुंगो लगाउन समस्या भएको हो ।

‘ओली नेतृत्वको सरकार हुँदा गठन भएका छायाँ मन्त्रीहरुलाई अहिले निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग छ,’ एक छायाँ मन्त्रीले भने, ‘सबैलाई समेट्न नसकिएला तर, छायाँ मन्त्रालय सम्हालेका मुख्यमुख्य व्यक्तिलाई मन्त्री बनाउनुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भनेका छौं ।’

कांग्रेसबाट छायाँ मन्त्री हुनेहरुमा डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, ज्ञानेन्द्र बहादुर कार्की, डा. नारायण खड्का, डा. अमेरश कुमार सिंह उमाकान्त चौधरी किशोर सिंह राठौर, मीनबहादुर विश्वकर्मा, गगन कुमार थापा, सुजाता परियार, पार्वता डि.सी. चौधरी, देवेन्द्रराज कण्डेल, डा. डिला संग्रौला पन्त, बहादुर सिंह लामा, लक्ष्मी परियार, अतहर कमाल मुसलमान, पद्म नारायण चौधरी, अनिता देवकोटा, उमा रेग्मी, भिसेनदास प्रधान, सञ्जय कुमार गौतम, राजेन्द्र कुमार के.सी. रहेका थिए ।

पहिलो चरणमा देउवाले माओवादी केन्द्रबाट २ र कांग्रेसबाट २ जनालाई सरकारमा सामेल गराएका छन् । यता जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले सात वटा मन्त्रालय पाउनुपर्ने अडान लिएको छ । सरकार टिकाउन आफूहरु निर्णाय रहेको बताउँदै आएको जसपाले ७ वटा मन्त्रालय पाउनुपर्ने अडान लिएको हो ।

यता जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई अन्तिम समयमा विश्वासको मत दिएको थियो । ठाकुर पक्षले सरकारमा आउन चाहेको खण्डमा उनीहरुलाई समेटेर मन्त्रिमण्डल बनाउनुपर्ने दबाबमा छन् देउवा ।