काठमाण्डु – सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिरिषद बैठकले गरेका ७ निर्णयहरु सार्वजनिक गरेका हु्न ।
सरकारले राष्ट्रिय जनगणना २०७८ संशोधित कार्यतालिका स्वीकृत गरेको छ । कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुँदै आएको जनगणना सञ्चालनका लागि सरकारले नयाँ कार्यतालिका स्वीकृत गरेको हो ।
बैठकले अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त विद्यालय क्षेत्र विकास कार्यक्रम संचालन गर्न सहुलियतपूर्ण ऋण सहायता स्वरूप प्राप्त हुने ५० मिलियन अमेरिकी डलर (करिब पाँच अर्ब ५४ करोड बराबर) को ऋण सहायता स्वीकार गरेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत नै प्राप्त नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि प्राप्त हुने ५० मिलियन अमेरिकी डलर (पाँच अर्ब ५४ करोड अमेरिकी डलर बराबर) सहुलियतपूर्ण ऋण पनि स्वीकार गरेको छ ।
मन्त्रिपरिषद् बैठकले जिल्लाको व्यास गाउँपालिका–१ छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका ब्यारेक भवन निर्माण प्रयोजनका लागि आठ हजार पाँचसय क्युबिक फिट सल्लो प्रजातिको गोलिया काठ संकलन गरी प्रयोग गर्न अनुमति प्रदान गरेको छ ।
त्यस्तै जलवायु परिवर्तन सम्बन्धी अनुकुल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपालका तर्फबाट सहभागिता जनाउन पनि अनुमति दिएको छ ।
त्यसैगरी आर्थिक बर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । निजामति सेवा व्यवस्था बमोजिम निजामति सेवा दिवस दिन भोलि (मंगलबार) ४० जना कर्मचारीलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारले विपी कोइरालाको नाममा विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया