मन्त्रिपरिषद् पुनर्गठनः नयाँ मन्त्रीहरुको ‘नयाँ-नयाँ रेकर्ड’ !

मन्त्रिपरिषद् पुनर्गठनः नयाँ मन्त्रीहरुको ‘नयाँ-नयाँ रेकर्ड’ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेको यो पुनर्गठित मन्त्रिपरिषद्मा अधिकांश मधेशी मुलका नेताहरु मन्त्री बनेका छन् ।

साथै नयाँ मन्त्रीहरुको नयाँ नयाँ रेकर्ड समेत बनेको छ । पुनर्गगठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् । यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेल बहिर्गमनमा परेसँगै पौडललाई माथिल्लो वरियता मिलेको हो ।

पौडेलपछिको वरियतामा रघुवीर महासेठ रहेका रहेका छन् । भने राजेन्द्र महतो उपप्रधानमन्त्रीको तेस्रो वरियतामा रहेका छन् । आश्चर्यजनकको कुरा त के छ भने संविधान निर्माणपछि २०७२ मा विभेदकारी संविधान भन्दै सीमा नाकामा धर्ना बसेर नाकाबन्दी गर्ने र संविधान जलाउने जनता समाजवादी पार्टीका नेता महतो यही संविधान अन्तर्गत उपप्रधान तथा सहरी विकासमन्त्री बनेका छन् ।

पाँच पटक मन्त्री बनिसकेका महतो पाँचौ पटकमा उपप्रधानमन्त्री बनेका हुन् । अर्कोतर्फ, जनता समाजवादी पार्टीका शरत् सिंह भण्डारी १५ पटक मन्त्री बन्दा पनि अहिलेसम्म मन्त्रीमै सीमित छन् । उनको बढुवा हुन पाएको छैन ।

मन्त्रीहरुको वरियतामा भने उनी सबैभन्दा अगाडी छन् । त्यस्तै परराष्ट्रमन्त्री रघुवीर महासेठको परिवारबाट श्रीमान–श्रीमति नै आलोपालो मन्त्री बनिरहेका छन् । प्रधानमन्त्री ओलीकै नेतृत्वको सरकारमा महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । मन्त्रीमण्डल पुनर्गठनमा उनी हटे तर यसअघिको मन्त्रीमण्डल पुनर्गठनमा उनकी श्रीमति जुली महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनिन् ।

त्यस्तै, उपमेयरमा ९९ मत प्राप्त गरेकी रेणुका गुरुङ्ग महिला, बालबालिका राज्यमन्त्री बनेकी छिन् । जसपाभित्रको शक्ति सन्तुलनमा महन्थ ठाकुरलाई सघाएकाले उनी राज्यमन्त्री बनेको बताइएको छ ।

खानेपानी तथा सरसफाइमन्त्री बनेका अनिल झालाई ओली नेतृत्वकै सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक आयोगले विराटनगर जुटमिल घोटालाका दोषी करार गरी मुद्दा चलाउन सिफारिश गरेको थियो । ओलीले उल्टै उनलाई मन्त्री बनाइदिएका छन् ।

अर्थमन्त्रीबाट बढुवा भएका विष्णुप्रसाद पौडेल सरकारका वरिष्ठतामा उपप्रधानमन्त्री बनेका छन् । यसअघि नेकपा एमालेबाट अर्थमन्त्री बनेका भरतमोहन अधिकारी उपप्रधानसहित अर्थमन्त्री बनेका थिए । मन्त्री पौडेलको भने अर्थमन्त्री बनेर आएयता तीनपटक सपथ ग्रहण भैसकेको छ ।

यसअघि वैशाख २७ मा संसदमा विश्वासको मत गुमाएपछि वैशाख ३१ मा राष्ट्रपतिले संसदमा बहुमत प्राप्त दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । नयाँ सरकार बन्दा पनि ओलीले त्यसअघिकै मन्त्रीहरूलाई सोही पदमा सपथ ग्रहण गराएका थिए ।