काठमाण्डु – मन्त्रिपरिषद विस्तार हुन नसकेको बिषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको १ महिना पुग्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।
आजको बैठकमा एमाले सांसद कोमल वलीले अहिलेसम्म शिक्षामन्त्री नियुक्ति नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताइन् । उनले शिक्षामन्त्री नियुक्त नहुनु भागबन्डा नमिलेर हो कि के हो ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरिन् ।
आजको बैठकमा शुन्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका हुन् । सांसद उदय शर्मा पौड्यालले पूर्वतयारीबिना राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा स्थागित गरेको बताइन् ।
राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले दुईतिहाइ जनमतको कदर गर्न नसकेको नेकपा (एमाले)को सरकारले पार्टीका पुराना नेताहरुको मानमर्दन गरेको आरोप लगाए ।
उनले नेपाली भूमि दार्चुला हुँदै मानसरोवर जाने बाटो एकतर्फी हुँदै भारतले निर्माण गरिरहँदा पनि केही नबोलेको बारेमा जनतालाई उत्तर दिनुपर्ने बताए ।
राष्ट्रियसभा सदस्य अनिता देवकोटाले नेपाली कांग्रेसको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमि फिर्ता गर्न माग गरिन् ।
उनले विगतको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमिबारे कूटनीतिक पहल नगरेकोले भूमि फिर्ता हुन नसकेको भन्दै यो सरकारले भूमि फिर्ता गर्नुपर्ने बताएकी हुन् ।
प्रतिक्रिया