काठमाण्डु – कम्बोडियामा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बोलाएर ठगिएका थप ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी नेपाल फर्काइएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत २३ गते नेपाल फर्केका हुन् ।
दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो ।
दूतावासले अलपत्र परेका र कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि फर्काउने प्रयास गरिरहेको जनाएको छ । दूतावासका अनुसार कम्बोडियामा अझै पनि धेरै नेपाली अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर पनि बसिरहेको जनाएको छ ।
स्क्यामिङ केन्द्रमा काम लगाइएकाहरूको राहदानी रोजगारदाता कम्पनीले नै जफत गर्ने वा एक ठाउँबाट अर्को ठाउँमा सार्दा राहदानी हराउने गरेको गुनासो बढेको छ । यस्तो अवस्थामा नेपाल फर्कन चाहनेहरूका लागि दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिदिने व्यवस्था मिलाएको छ । यससम्बन्धी सम्पूर्ण प्रक्रिया दूतावासको वेबसाइटमा समेत राखिएको छ ।
भिजिट भिसामा गएर मानव तस्करको जालमा पर्ने क्रम बढेपछि दूतावासले चेतावनी जारी गरेको छ । नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले सम्पूर्ण नागरिकलाई सचेत गराएको छ ।
कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा भ्रमणको बहाना बनाएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जस्ता देशमा रोजगारीको खोजीमा नआउन राजदूतावासले अपिल गरेको छ ।





प्रतिक्रिया