काठमाण्डु – क्यानडाले पनि प्यालेस्टाइनलाई राष्ट्रका रूपमा औपचारिक मान्यता दिने घोषणा गरेको छ।
यसअघि फ्रान्स र बेलायतले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा औपचारिक मान्यता दिने घोषणा गरिसकेको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सेप्टेम्बरमा प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने योजना रहेको बताएका छन्।
विगत केही दिनमा यो प्रकृतिको घोषणा गर्ने क्यानडा जीसेभेनको तेस्रो मुलुक बनेको छ। कार्नीले क्यानडाको कदम हमासको संलग्नताविना अर्को वर्ष चुनाव गराउनेसहित प्यालेस्टिनी अथोरिटीका लोकतान्त्रिक सुधारहरूमा निर्भर गर्ने उल्लेख गरेका छन्।
प्यालेस्टाइनलाई मान्यता दिने सम्बन्धमा बेलायतले घोषणा गरेको भोलिपल्ट र फ्रान्सले योजना सार्वजनिक गरेको एक सातापछि कार्नीको अभिव्यक्ति आएको हो।
कार्नीको भनाइ आएपछि इजरायलका विदेशमन्त्रीले क्यानडाको घोषणा अस्वीकार गर्दै हमासका लागि त्यो पुरस्कार हुने टिप्पणी गरेका छन्।
कार्नीले संयुक्त राष्ट्रसङ्घको आउँदो महासभामा क्यानडाले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा औपचारिक मान्यता दिने जनाएका हुन्।
क्यानडाको विदेश नीतिमा परिवर्तन आउनुका पछाडि अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती विस्तार, गाजामा बिग्रिँदै गएको मानवीय अवस्था र सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासको हमला कारण रहेको जनाइएको छ ।
गाजामा मानवीय पीडा असह्य स्तरमा छ र त्यो तेज गतिमा बिग्रिँदै गएको छ । शान्ति प्रक्रियाको एउटा हिस्साका रूपमा क्यानडा लामो समयदेखि दुई राष्ट्र समाधानप्रति कटिबद्ध रहँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १४७ अर्थात् अधिकांश देशले प्यालेस्टाइनलाई एउटा राष्ट्रका रूपमा औपचारिक मान्यता दिएका छन्।
विश्वका १४३ देशले प्यालेस्टाइनलाई राज्यको रूपमा स्वीकार गर्छन्, जसमा अरब समूहका देशहरू, इस्लामिक कोअपरेसन अर्गनाइजेसन र असंलग्न आन्दोलनका पक्षधर देशहरू छन्।
तर अमेरिका, बेलायत, फ्रान्ससहित अन्य कैयौँ देशले प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिएका छैनन्।
प्यालेस्टाइनलाई अलग राष्ट्रको रूपमा मान्यता नदिने देशहरूले इजरायलसँग वार्ता र विवाद समाधान नगरेका कारण मान्यता नदिएका हुन्।
अमेरिकाले प्यालेस्टाइनलाई अलग राज्यको मान्यता दिनुपर्ने ओठे प्रतिबद्धता जनाउने गरेको भए पनि उसले प्रत्यक्ष वार्ताबाट इजरायलसँगको विवाद टुङ्गाउन जोड दिँदै आएको छ। यसको अर्थ प्यालेस्टाइनको स्वायत्ततामाथि इजरायलको पक्षमा भीटो हाबी हुने बाटो दिनु हो, ।




प्रतिक्रिया