क्यानडा जाने नेपाली विद्यार्थीलाई टिप्स

क्यानडा जाने नेपाली विद्यार्थीलाई टिप्स

विद्यार्थीहरू यथार्थ बुझेर जानुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्यानडामा नेपाली आप्रवासनको इतिहास लामो छ । सन् ६० को दशकदेखि त्यहाँ मान्छेहरू गएर बसेको देखिन्छ । साधारणतया पहिले अध्ययनका सिलसिलामा त्यहाँ गएका र अध्ययनपछि त्यतै बसेका देखिन्छन् । ६० को दशकमा गएको पुस्ता त हाल सक्रिय नहुन सक्छन् । अर्थात् सेलाइसकेको अवस्था छ । उनीहरूका छोराछोरी, नाति–नातिनाहरू छन् । उनीहरू नेपाली समाजसँग नजिकिएका छैनन् ।

त्यसपछि, क्यानडाको इमिग्रेसन पोलिसी (अध्यागमन नीति)ले २०१० तिरबाट फेरी नयाँ नीति ल्यायो र प्रोफेशनलहरूलाई आकर्षित गरेको देखिन्छ । हामीहरू पनि त्यसरी नै त्यहाँ पुगेका हौँ ।

विशेषगरी त्यहाँ प्राविधिक रूपमा काम गरिरहेकाहरूको जमात छ । धेरैजसो इन्जिनियर वा एकाउन्टटेन्टहरू छन् । विविध क्षेत्रका शिक्षित मान्छेहरू छन् । त्यस्तै एउटा ठूलो जमात भने रेस्टुरेन्ट व्यापारमा छन् । ती पहिले सेफ वा कुक भएर गएका हुन् । आर्थिक रूपमा निकै सफल व्यवसायीहरू पनि छन् । पेशागत रूपमा सफल, माथिल्लो पदमा पुगेका गभर्मेन्ट अफिसरहरू पनि छन् ।

म आफैँ पनि करिब १० वर्ष सरकारी सेवामा काम गरेर अहिले प्राइभेट कन्सल्टिङ गर्छु । अझ व्यापार गर्ने, व्यापारमा पनि रेस्टुरेन्ट चलाउनेहरू छन् ।

रियल इस्टेटको क्षेत्रमा अहिले नेपालीहरूको ठूलो समूह सक्रिय छ । क्यानडा आफैमा विराट देश भएकाले त्यहाँ विभिन्न किसिमका नेपालीहरू, विभिन्न पेशामा संलग्न छन् । पछिल्लो समय अर्थात कोभिडपछि भने विद्यार्थी युवा पुस्ता अझ आकर्षित भएको देखिन्छ । तर उनीहरूका समस्या छन् । त्यो कुरा त्यही गएर १०–१५ वर्ष बसिसकेका मान्छेहरूले थाहा पाएर उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर लागिरहेका पनि छन् ।

विद्यार्थीले कस्तो शिक्षण संस्था छान्ने ?

नेपालबाट गएका धेरैजसो प्लस टु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलर्स पढ्न भनेर गएको भ्रममा हुन्छन् । उनीहरूले कलेजमा एडमिसन गर्छन् । तर कलेजले ब्याचलर्स डिग्री दिँदैन, कलेज डिप्लोमा मात्र दिन्छ । त्यो कलेज डिप्लोमा भनेको चाहिँ ब्याचलर्स होइन । जस्तो कि, आइटीमा पढ्न जान्छु भनेपनि आइटीमा ब्याचलर्स इन इन्फर्मेसन टेक्नोलोजी अथवा ब्याचलर्स इन इन्फर्मेशन एण्ड कम्प्युटर इन्जिनियरिङ भन्ने होइन । त्यो कलेज डिप्लोमा मात्रै हो, पाउन त्यसले निकै कठिन हुन्छ । त्यो मध्यम स्तरीय जनशक्ति हो भने ब्याचलर्स डिग्री उच्च स्तरीय जनशक्ति हो ।

कलेज डिप्लोमा भनेको झन्डै–झन्डै नेपाली हिसाबले भन्ने हो भने सिटिइभिटीले दिने डिप्लोमा जस्तो मात्रै हो । त्यसले जो विद्यार्थीहरू साँच्चै म ब्याचलर्स, मास्टर्स वा पीएचडी गर्छु भनेर जान्छन्, ती विद्यार्थीहरू चाहिँ सम्भवत झुक्किएर त्यहाँ पुग्छन् र कलेज डिग्री लिन्छन् । त्यो कलेज डिग्रीबाट एकदमै गाह्रो छ फेरी युनिभर्सिटीमा जानलाई । जान सकिँदैन भन्ने होइन, तर एकदमै गाह्रो छ । युनिभर्सिटी अफ टोरन्टो, युनिभर्सिटी अफ हेलिफ्याक्स जस्ता थुप्रै युनिभर्सिटीहरू छन् । ती युनिभर्सिटीमा भयोभने चाहिँ ब्याचलर्स डिग्री पाइन्छ । सामाजिक स्थानान्तरण र सांस्कृतिक झट्का लगायतका विविध कारणले गर्दा केही नेपाली भाइबहिनीहरू डिप्रेसनको शिकार भएको, दुव्र्यशनमा फसेको, केही आर्थिक अभावले अप्ठ्यारो अवस्थामा परेको भन्ने पनि सुनिन्छ । तर समग्रमा नेपालीहरूले कनाडामा राम्रो गरेका छन् ।
पहिले र अहिलेको भिन्नता

सन् ६० देखि नै नेपालीहरू विभिन्न शहरहरूमा बसोबास गर्दै आएका छन् । क्यानडा विराट देश हो । विभिन्न शहरहरूमा छरिएर बसेका कारणले गर्दा सबै प्रमुख शहरहरूमा एनआरएन स्थापित हुनुभन्दा अगाडिदेखि कम्युनिटी एसोसिएशनहरूको रेकर्ड छ ।

पहिले त कस्तो किसिमको संस्कृति नै थियो भने थोरै मान्छे आउने भएकाले आएका मान्छेहरूलाई एयरपोर्टसम्मै लिन गइदिने, घरमा ल्याएर एक–दुई रात बसाइदिने, खाना खुवाइदिने, घरगाउँ मिस नहोस् भनेर त्यस्तो गर्ने पनि चलन थियो । साना साना कम्युनिटी एसोसिएसनहरूले त्यो गरिरहेका थिए । तर अहिले त्यो अलिकति फरक भयो । अहिले जनसंख्या बढेका कारणले गर्दा अलि फरक भएको छ ।

एनआरएनको भूमिका

यतिबेला एनआरएन क्यानडाले नेपाली समूदायलाई एकताबद्ध गराउने गरी कामहरू गरिरहेको छ । साना–साना समुदायमा केन्द्रित नेपाली क्यानेडियन एसोसिएसनहरूसँग समन्वयमा सहयोग गरिरहेको छ । उनीहरूको जस्तो किसिमको माग छ, त्यो मागका आधारमा सहयोग गर्ने कार्यक्रम लिएर आइरहेको छ । मद्दत गर्न चाहनेहरूका लागि रिसोर्स ल्याइदिने काम, त्यहाँको प्रोभिन्सियल गभर्मेन्टसँग अथवा त्यहाँको फेडेरल गभर्मेन्टसँग कनेट गरेर रिसोर्स ल्याइदिने कामहरू भइरहेका छन् । त्यस्ता किसिमका कामहरूमा एनआरएन क्यानडा सक्रिय छ ।

विद्यार्थीको आकर्षण र जागिर

नेपाली विद्यार्थी अर्थात अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्न केही नीतिगत परिवर्तनहरू भएको छ । पढिसकेपछि एक वर्षपछि पीआर लिनलाई सजिलो बनाइदिएको थियो । त्यसले गर्दा धेरैजसो युवा विद्यार्थीहरू त्यसमा आकर्षित भएको देखिन्छ ।

पछिल्लो समयमा भएका नीतिहरूमा पनि अलिकति परिवर्तन गरेको छ । त्यसले गर्दा एक वर्ष आफ्नै फिल्डमा काम गरेको हुनुपर्ने आदि इत्यादि ल्याइदियो । त्यसलाई पनि कडाइ गरेका कारणले गर्दाखेरि धेरै विद्यार्थीहरू समस्यामा परे । उता गइसकेकालाई त चुनौति नहोला । तर, अब जाने विद्यार्थीहरूलाई चुनौतीपूर्ण हुन सक्ने अवस्था छ । किनभने विद्यार्थीहरूले डिग्रीभन्दा पनि पीआरको आसमा गएका हुन भन्ने देखिन्छ । त्यस कारण पनि सरकारको नीति परिवर्तन भएको हुनसक्छ ।

क्यानडामा नेपालीको संख्या त थोरै छ । भारतीय अथवा चिनियाँ मूलका विद्यार्थीहरू धेरै जाने भएकाले नीतिगत कडाइ गरेको हुनुपर्छ । त्यहाँ गएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भनेअनुसार नेपाली कन्सलटेन्सीहरूले त्यहाँ गएको भोलिपल्टैदेखि काम पाइन्छ भनेर भन्ने गरेका छन् । काम पाउन एकदमै गाह्रो छ । काम पाउन त्यहाँको स्थानीय मान्छेहरूलाई नै पनि गाह्रो छ । हामी जस्तो पहिलो पुस्ताका नेपालीका छोराछोरीलाई नै काम पाउन मुस्किल छ । नयाँ गएकालाई त झनै गार्हो छ ।

नेपालमा अर्कै किसिमको सेटअपमा हुर्केका अर्थात बाबा–आमाको काखमा बसेर पढेका विद्यार्थीहरूलाई केही कठिनाइ भएको देखिन्छ । काम पनि गर्नुपर्ने, बसाइको ठेगान नहुनेलगायतका चुनौतिहरू छन् । यस्ता कारणले नीतिमा कडाइ गरेको हुनसक्छ । काम नपाउने र काम पाए पनि शोषणमा पर्ने पनि देखिएको छ । जस्तो कागजमा प्रोभिन्सियल गभर्मेन्टको उदाहरण लिने हो भने उसले १७.२ डलर प्रति घण्टा दिनुपर्छ । तर, नेपालीहरूले अथवा आफ्नै चिनेका मान्छेहरूले नै पनि त्यो १७.२ डलर नदिएर १३, १४ डलर दिएर काम गराएको भन्ने पनि छ ।

नेपाली दूतावास अटावामा छ । नेपाली दूतावासको इतिहास दुइ दशकको पनि छैन । जसले गर्दा विभिन्न शहरमा रहेका नेपालीहरूलाई, पासपोर्टका समस्या अथवा नेपालीले भोग्नुपरेका समस्याहरूलाई समाधान गर्नलाई राजदूतावासले त्यहाँ बसेर सहयोग गरिरहेको छ । तर काठमाडौंमा क्यानाडाको दूतावास छैन । दिल्ली जानुपर्ने अवस्था छ । अनि दिल्लीमा भोग्नुपर्ने समस्याहरू पनि धेरै छन् । हामीले नेपालमा पनि दूतावास चाहिन्छ भनेर भनेका छौं ।

एनआरएनए, क्यानाडाका वरिष्ठ उपाध्यक्ष डा.मरहट्टासँग गरिएको कुराकानीमा आधारित