काठमाण्डु – बेलायतमा गरिएको एउटा अध्ययनले धेरै क्याल्सिअम खाने मानिसहरूमा आन्द्राको क्यान्सर हुने जोखिम घटाउन सक्ने थप प्रमाणहरू पत्ता लगाएको छ ।
अध्ययनका अनुसार दैनिक एक गिलास दूध त्यसका लागि सहयोगी हुनसक्छ । अनुसन्धाताहरूले १६ वर्षभन्दा माथिका ५ लाख जनाभन्दा धेरै महिलाको आहारको विश्लेषण गरेका थिए । त्यसक्रममा उनीहरूले गाढा–हरियो सागपात, पाउरोटी र गाईको दूध बाहेकका नरिवल वा बदाम लगायतबाट बनाइने दूधको सेवनबाट पनि आन्द्रामा क्यान्सरको जोखिम गर्न मद्दत पुग्ने निष्कर्ष निकालेका छन् ।
उनीहरूले अत्यधिक मदिरा सेवन र प्रशोधित मासुको सेवनले भने आन्द्रामा क्यान्सर हुने जोखिम बढाउने बताएका छन् ।
क्यान्सरसम्बन्धी परोपकारी संस्थाहरूले स्वस्थ तथा सन्तुलित आहार, स्वस्थ तौल र धूमपान सेवन नगर्नु आन्द्राको क्यान्सरको जोखिम कम गर्ने सबैभन्दा उत्तम उपाय भएको बताउने गरेका छन् ।
हालैको एउटा समीक्षाले दुग्ध पदार्थहरूले आमाशय (आन्द्रा) मा हुनसक्ने क्यान्सरको जोखिम कम गर्ने पत्ता लगाएको थियो ।
अक्सफर्ड विश्वविद्यालय र क्यान्सर रिसर्च बेलायतको अध्ययनले डेरी वा गैरडेरी खानेकुराहरूमा पाइने क्याल्सिअमले क्यान्सर कम गर्नसक्ने देखाएको हो ।
हरेक दिन खानेकुरामा थप ३०० मिलिग्राम क्याल्सिअम वा ठूलो गिलासमा भरी दूध पिउँदा क्यान्सरको जोखिम १७ प्रतिशत कम हुने अनुसन्धानमा उल्लेख छ ।
बिहानको खानामा अन्न, फलफूल, कार्बोहाइड्रेट, सिरिअल, फाइबर र भिटामिन सी खाँदा पनि क्यान्सरको जोखिम कम हुने र दुग्ध पदार्थभन्दा त्यसको प्रभाव अलि कम हुने अध्ययनले देखाएको छ ।
उच्च प्रशोधित मासु र रातो मासु तथा मदिराले आन्द्राको क्यान्सरको जोखिम बढाउने यसअघि नै थाहा भइसकेको कुरा हो । तर पछिल्लो अध्ययनले यसबारे थप प्रमाणहरू पत्ता लगाएको छ ।
दिनमा एक ठूलो गिलास (२० ग्राम) वाइन सेवन गर्दा क्यान्सरको जोखिम १५ प्रतिशतले बढ्ने अध्ययनमा उल्लेख छ । त्यस्तै दैनिक एक औँस रातो र प्रशोधित मासु खाँदा आन्द्राको क्यान्सर हुने जोखिम ८ प्रतिशतले बढ्छ ।
जोखिमको प्रतिशत ठ्याक्कै मापन गर्न भने सहज छैन । किनभने हरेक व्यक्तिको आन्द्रामा क्यान्सर हुने जोखिम उसको जीवनशैली, आहार, आनीबानी र आनुवंशिकतामा भर पर्छ ।
धेरैजसो यस्तो क्यान्सर वृद्धवृद्धामा देखिए पनि ५० वर्षभन्दा कम उमेरका वयस्कहरूमा पनि यस्तो समस्या बढिरहेको छ ।
क्याल्सिअमले के गर्छ ? के मा पाइन्छ ?
हाम्रो हड्डी बलियो बनाउन र दाँत स्वस्थ राख्नका लागि क्याल्सिअम महत्त्वपूर्ण खनिज हो । तर यसले निश्चित प्रकारका क्यान्सरहरूबाट पनि हामीलाई जोगाउन सक्ने प्रमाणहरू अहिले बढ्दो क्रममा छन् ।
दूध, दही र चीजमा प्रशस्त क्याल्सिअम हुन्छ । हामीमध्ये धेरैजसोको खानेकुरामा क्याल्सिअम पाउने प्रमुख स्रोत दुग्धजन्य पदार्थहरू हुन् ।
क्याल्सिअम सोया र चामलबाट बनेको पेय, सेतो पाउरोटी, नट्स, बियाँ र फलफूलहरू जस्तै सुकेको अञ्जीर, कर्ली केल जस्ता अन्य खानेकुराहरूमा पनि पाइन्छ । यो ल्याक्टोज–फ्री दूधमा पनि हुन्छ ।
यदि तपाईँ डेरीको दूध पिउनुहुन्न भने पनि क्याल्सिअमको मात्रा पाउने अन्य उपाय छन् । उदाहरणका लागि ब्रोकली वा तोफुमा पनि यो पाइन्छ । त्यस कारण दूध नपिई पनि तपाईँ आन्द्राको क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।
यसले क्यान्सर निम्त्याउन सक्ने पित्त एसिडलाई जमाउने र आमाशयमा फ्याटी एसिडलाई फैलन सघाउने भएका कारण क्याल्सिअमले आन्द्राको क्यान्सरबाट जोगाउन सहयोग पुग्ने अध्ययनमा उल्लेख छ ।
धेरैजसो यस्तो क्यान्सर वृद्धवृद्धामा देखिए पनि ५० वर्षभन्दा कम उमेरका वयस्कहरूमा पनि यस्तो समस्या बढिरहेको छ र यसको कुनै स्पष्ट कारण पत्ता लागेको छैन ।
विज्ञहरूले खराब आहार र मोटोपना यसको कारण रहेको हुनसक्ने बताएका छन् ।
आन्द्राको क्यान्सरका लक्षण
- पाचन प्रक्रियामा परिवर्तन जस्तै कमलो दिसा, दिसा लागिरहने वा कब्जियत हुने
- मलद्वारबाट रगत बग्नु वा दिसामा रगत देखिनु
- कुनै कारणबिना तौल कम हुनु
- थकान लागिरहनु वा श्वास फेर्न समस्या हुनु




प्रतिक्रिया