काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र क्यानाडाका रक्षामन्त्री हर्जित साज्जनबीच टेलिफोन वार्ता सम्पन्न भएको छ । शुक्रवार सांझ भएको वार्तामा दुवै देशका सरकारबाट हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोगको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि भईरहेका प्रयासहरुका सम्बन्धमा छलफल हुनुका साथै यसलाई अझैै प्रभावकारी बनाउन दुई देशबीच पारस्परिक सहयोग गर्ने विषयमा सहमती भएको रक्षामन्त्रालयले जनाएको छ ।
वार्ताको क्रममा रक्षामन्त्री पोखरेलले कोरोना भाइरस महामारीको नियन्त्रण र व्यवस्थापनका लागि सरकारले चालेका कदमहरुको बारेमा आफ्ना सकमक्षीलाई जानकारी गराएका थिए ।
साथै उनले अघिल्लो महिना राष्ट्रपति विद्यादेवी भण्डारी र क्यानाडाका गभर्नर जनरलबीच कोभिड–१९ महामारी नियन्त्रण र व्यवस्थापन गर्ने सम्बन्धमा भएको सूचनाको आदान प्रदानको स्मरण गर्दै सन् २०१८ मा संयुक्तराष्ट्र संघीय साधारण सभामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र क्यानाडा सरकारका प्रधानमन्त्री जष्टिन ट्रुडोवीचको साइडलाइन वैठककोे स्मरण समेत गराए । रक्षामन्त्री पोखरेलले यस्ता उच्चस्तरीय वार्ताबाट दुई देश बीचको सम्बन्ध अझै गाढा र फराकिलो हुने विश्वास व्यक्त गरे ।
वार्ताका क्रममा क्यानाडा सरकारका राष्ट्रिय रक्षामन्त्रीले कोभिड–१९ को विश्वव्यापी महामारीको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गरेका प्रयासहरुको सराहना प्रकट गर्दै आगामी दिनमा नेपाल र क्यानाडा सरकार दुवै एकसाथ अघि बढ्ने विश्वास प्रकट गरेको रक्षामन्त्रालयका प्रवक्ता सन्त बहादुर सुनारले जानकारी दिए ।
टेलिफोन वार्ताका अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।




प्रतिक्रिया