काठमाण्डु – स्थानीय तहको निर्वाचनमा १० जनाले १ भोटका कारण चुनाव जित्न सफल भएका छन् ।
३० बैशाखमा सम्पन्न निर्वाचन अन्तर्गत जारी मतगणनाको सार्वजनिक नतिजाअनुसार स्थानीय तहमा १० उम्मेदवारले १ मतले चुनाव जितेका हुन् ।
जसमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमारी कडरिया, एमालेका इन्द्र अधिकारी, काँग्रेसका सुशिल लामा लगायत रहेका छन् । उनीहरु आगामी पाँच वर्षका लागि प्रतिनिधि चुनिएका हुन् ।
यी हुन १ भोटले चुनाव जित्नेहरु :
अर्घाखाँचीको मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद अर्याल १ मतले विजयी भएका छन् । अर्याल ८ सय ४९ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उदयबहादुर पुन मगर ८ सय ४८ मत ल्याएर पराजित भए ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया १ मतले विजयी भइन् । उनले २ हजार ३ सय ७६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवनकुमार चाम्लिङले २ हजार ३ सय ७५ मत पाए ।
काभ्रेमा ३ स्थानीय तहका ३ वडामा एक–एक मतान्तरले वडाध्यक्षमा विजयी भए । तेमाल गाउँपालिका वडा नम्बर १ मा एमालेका इन्द्र अधिकारी १ मतले विजयी भए । उनले ५ सय ३१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी काँग्रेसका कालदास तामाङले ५ सय ३० मत पाएर पराजित भए ।
काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका सुशिल लामा पनि १ मतले विजयी भए । उनले ४ सय २ मत पाउँदा माओवादी केन्द्रका राजु आलेले ४ सय १ मत पाएर पराजित भए ।
त्यस्तै काभ्रेकै खानीखोला गाउँपालिका वडा–१ मा माओवादी केन्द्रका सन्तमान थिङ १ मतले विजयी भए । उनले ५ सय ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका आसाराम गोले ५ सय ४७ मतसहित पराजित भए ।
पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा काँग्रेसका जयप्रकाश चौरसिया पनि १ मतले विजयी भए । उनले १ हजार १ सय ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हनिफ मियाँ जोलाहाले १ हजार १ सय ८४ मत पाएर पराजित भए ।
यता महोत्तरीको महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी १ मतले विजयी भए । उनले ३ सय ६६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका मोहम्मद अनामुल राइनले ३ सय ६५ ल्याएर पराजित भए ।
महोत्तरीको बर्दिवास नगरपालिका–१४ मा स्वतन्त्र उम्मेदवार विजयकुमार महतो १ मतले विजयी भए । महतोले ५ सय ८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका भरत हमाल ५ सय सात मत ल्याएर पराजित भए ।
त्यसैगरी महोत्तरीको बर्दिवास–७ मा पनि स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव १ मतले विजयी भए । उनले ७ सय २७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह कोइरी ७ सय २६ मत ल्याएर पराजित भए ।
गुल्मीको कालिगण्डकी गाउँपालिका २ मा काँग्रेसका उम्मेदवार रेशमराज न्यौपाने पनि एक मतले वडाध्यक्षमा विजयी भए । ७ सय ५६ मतसहित उनले माओवादी–एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई हराउन सफल भए । न्यौपानेले ७ सय ५५ मत पाएका थिए ।




प्रतिक्रिया