काठमाण्डु – राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ ।वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो । प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनार्काे छ ।
२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।
खाली भएको यो क्षेत्रमा एमालेले बादललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ भने बादल जितको ग्यारेन्टी नभएसम्म उम्मेदवारी नदिने अडानमा रहेका छन् । जसका कारण अहिलेसम्म एमालेको तर्फबाट उम्मेदवार चयन भइसकेको छैन ।
संयुक्त गठबन्धनको तर्फबाट भने यो पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिने भएका छन् । देवकोटा माओवादी, कांग्रेस र जसपाको संयुक्त उम्मेदवार हुन् । उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो ।
बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मतको आँकलन गरेर उम्मेदवारी दिइने र पार्टीका उम्मेदवारलाई जिताउने निर्णय गरे पनि उम्मेदवारी कसले दिने भन्ने टुंगो लगाएको थिएन।




प्रतिक्रिया