काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने काममा जोकोही भएपनि त्यसको प्रतिरोध गर्नुपर्ने बताएका छन् । बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
उनले भ्रष्टाचारीको विरुद्वमा कसैले बोल्यो भने उसको मुख थुन्ने प्रयास भइरहेको बताए । ‘अहिले भ्रष्टाचार भन्नेबित्तिकै उसको मुख थुनिदिने प्रवृत्ति मौलाएको छ । अनि कसैले उजुरी दियो भने त्यो त भ्रष्टाचारी हो भनेर दोषी करार गरिहाल्ने प्रवृत्ति छ, यो सही छैन, उनले भने, अमरेशकुमार सिंहले संसद्मा भ्रष्टाचारको विरोध के गरेका थिए कि अहिले उनीविरुद्व अख्तियारमा उजुरी नै परिसकेको छ ।’
उनले एमालेलाई प्रतिशोधपूर्ण ढंगले वैमनास्यता साँधेको अवस्थाबारे भने आफूहरू सजग हुनुपर्ने बताए । ‘दोषीलाई समातेर कठघरामा ल्याउनुपर्छ । तर कसैलाई फसाउनका लागि अनुसन्धानलाई कतातिर लैजाने भनेर चलखेल भएको, षड्यन्त्र भएको भन्ने प्रयास हुन्छ भने त्यो स्वीकार्य हुँदैन,’ उनले भने, ‘पूर्वाग्रहपूर्ण ढंगले, निराधार ढंगले आरोप लगाउने र फसाउने, एमालेविरुद्ध लगातार वैमनस्यता प्रकट हुँदै आएको छ, यस्ता कुरामा हामी सजग हुनुपर्दछ ।’
त्यस्तै उनले ‘क्यान्टोनमेन्टमा नभएका मान्छेको पैसा व्यक्तिले खाएको बताएका छन्। क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचार हो तर कोही पनि बोल्न तयार छैनन्’, उनले भने, ‘राज्यको ढुकुटी दुरुपयोग गरेर व्यक्तिले कुम्ल्याउन मिल्दैन। अहिले लडाकुका नाममा दुई लाख बाँडिदैछ यो पनि दुरुपयोग हो।’ उनले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्नुपर्ने पनि बताए ।




प्रतिक्रिया