सुर्खेत – बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ ।
इनिशा घटनामा जोडिएका सबै तथ्यहरूको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शर्माले जानकारी दिए ।
इनिशा घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी प्राप्त तथ्यहरूको आधारमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको उनले बताए । ‘घटनाको अनुसन्धान पूरा गरी टोली अनुसन्धानमा संलग्न टोलीहरू फर्किएको छ,’ उनले भने, ‘केही रिपोर्टहरू आउन बाँकी छ, अहिलेसम्मको प्रतिवेदन हामीले बुझाएका छौं ।’
प्रहरीले अनुसन्धान सकेसँगै इनिशा प्रकरण अब न्यायालयमा प्रवेश गरेको छ । अनुसन्धानको क्रममा प्राप्त तथ्य प्रमाण र आरोपितहरूको बयानका आधारमा प्रतिवेदन तयार गरी पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले बताए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । आरोपितहरू चारै जना इनिशा घटनामा दोषी भएको भन्दै जबरजस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा कारवाहीको माग सहितको प्रतिवेदन तयार पारेको छ । घटनामा पक्राउ परेका चारै जनाको संलग्नता अनुसन्धानमा खुलेको उनले बताए ।
घटनासँग सम्बन्धित प्राविधिक रिपोर्टहरू सबै प्राप्त भइसकेको र केही रिपोर्टहरू आउनेक्रममै रहेका छन् । ‘अनुसन्धानमा खुलेका सबै तथ्यहरू सहितको प्रतिवेदनमा बुझाइसकिएको छ,’ उनले भने, ‘अब कुराहरू न्यायलयमा खुल्न सक्छन् ।’ २ हप्ताअघिदेखि प्रहरीले वैज्ञानिक तरिकाले अनुसन्धान गर्ने भन्दै केन्द्रबाट सीआईबी, नेपालगञ्जबाट पोलिग्राफ, सीडीआर एनालिसिसहरू लगायतका विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरेको छ । सामूहिक बालात्कारपछि इनिशाको हत्या भएको भन्दै आफन्त र परिवारले उनको शव बुझ्न मानेका छैनन् ।
घटना भएको १८ दिन बितिसक्दा पनि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमै रहेको छ । घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितहरूको मोबाइलसहित भजाइनल स्वाब परिक्षण लगायतका परीक्षण, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परिक्षण प्रहरीले प्रतिवेदन तयार गरेको छ ।
पक्राउ परेकामध्ये १ नाबालकले २ वर्षदेखि इनिशासँग प्रेम सम्बन्धमा रहेको, आफूहरूबिच शारीरिक सम्बन्ध रहँदै आएको र घटनाको दिनमा पनि सहमतिमै शारीरिक सम्पर्कपछि रक्तश्राव भएपछि इनिशा बेहोस भएको बयान दिएका थिए । ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अनुसन्धान अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरु साथीहरू घटनास्थल आएका हुन् ।’
सीसीटीभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ ।
सुर्खेतको उषा बालवाटिका विद्यालयमा ११ कक्षामा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारवाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् । इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान गरेको थियो ।
मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । इनिशा घटनाको बिषयमा दोषिलाई कारवाही र पीडित परिवारलाई न्याय दिलाउन भन्दै देशभर प्रदर्शन भइरहेका छन् ।
कर्णाली प्रदेश सभामा पनि सांसदहरूले इनिशा घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने आवाज उठाएका थिए ।




प्रतिक्रिया