काठमाण्डु – कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका पूर्व सञ्चालक समितिका अध्यक्ष तथा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक भएर चन्द्रबहादुर (सीबी) लामाले एक अर्ब ६३ करोड बढी नागरिकको रकम हिनामिना गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
सहकारीको रकम ठगी गरेको आरोपमा शुक्रबार पक्राउ परेका लामालाई आइतबार सार्वजनिक गर्दै नेपाल प्रहरीको काठमाडौँ अपराध अनुसन्धान कार्यालयले उनले दुई संस्थाबाट नौ सय बढी नागरिकको त्यति रकम हिनामिना गरेको उजुरी रहेको जानकारी दिएको हो ।
महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको विरुद्धमा ८ सय ५२ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ५४ जनाले आफूहरूको रकम डुबेको भन्दै उजुरी दिएका थिए ।
बचतकर्ताले नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा दिएको उजुरीमा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा ५४ जनाको १२ करोड तथा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको १ अर्ब एकाउन्न करोड पचासी लाख बाउन्न हजार सत्ताईस रुपैयाँ अपचलन गरेको आरोपमा जाहेरी दिएको एसएसपी भट्टराईले जानकारी दिए ।
काठमाडौँ जिल्ला अदालतबाट विसं २०८० फागुन २० गते अनुमति लिएर गत शुक्रबार (जेठ १८) चितवनको भरतपुरबाट पक्राउ गरिएका लामाको साथबाट प्रहरीले सामसुङ कम्पनीको मोबाइल २ वटा, नोकिया १, एसी कम्पनीको एउटा साधा सेट र सिम थान ६ वटा फेला परेको जानकारी दिएको छ ।
४९ वर्षीय लामा विसं २०४९ सालदेखि ओसिन एड्भटाइजन मिडियामा समाचार संकलनको रुपमा काम गरेको र विसं २०५२ भदौमा तत्कालीन सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा काम गरेको अुनसन्धानका क्रममा खुलेको एसएसपी भट्टराईले जानकारी दिए।
कान्तिपुर सहकारीको अनुसन्धान प्रहरी वृत्त बानेश्वरले अघि बढाएको थियो। लामालाई पक्राउ गर्न जेठ १५ गते वृत्तले कार्यालयलाई अनुरोध गरेको थियो।
अहिले उनीविरूद्ध थप १०० जनाले जाहेरी दिएका र रकम थपिने प्रहरीले बताएको छ । लामा २०५५ देखि २०७६ पुस २४ गतेसम्म उनी कान्तिपुर सहकारीका अध्यक्ष थिए। एकै व्यक्ति दुई सहकारीको अध्यक्ष बन्न नमिल्ने सरकारले नियम ल्याएपछि उनले सहकारी छाडेका थिए।
०५५ मै उनले पशुपति सहकारी स्थापना गरेका लामा २०५९ सालमा कान्तिपुर अस्पतालका अध्यक्षसमेत भएका थिए भने तीनकुनेमा कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स समेत सञ्चालन गर्दै आएका थिए।
पक्राउ परेका लामाविरूद्ध चार वटा बैंकिङ कसुरको मुद्दा चलिसकेको र तीन वटामा फरार रहेको कायम रहेको प्रहरीले बताएको छ ।
उनीमाथि थप अनुसन्धानका लागि सुरूमा प्रहरी वृत्त बानेश्वरमा पठाइने र पछि पशुपति सहकारीको अनुसन्धानका लागि सिआइबी पठाउने प्रहरीको तयारी छ।




प्रतिक्रिया