उपत्यकाका ३३ सय वटा सार्वजनिक सवारीमा सिसीक्यामेरा जोडियो

उपत्यकाका ३३ सय वटा सार्वजनिक सवारीमा सिसीक्यामेरा जोडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ ।

हालसम्म काठमाण्डु उपत्यकामा ३ हजार ३०३ वटा सार्वजनिक सेवाका सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, सवारी व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था लागू भएको छ ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा उक्त प्रविधि जडान भए÷नभएको विषयमा नियमित अनुगमन गर्न थालेपछि यातायात व्यवसायीहरूले पनि जडानलाई प्राथमिकता दिएका छन् ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुव्र्यवहार, बढी भाडा असुली, सवारी सञ्चालनको अवस्थालगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जिपिएस प्रणाली प्रभावकारी हुने बताए ।

उनले भने, ‘गाडीमा यात्रुलाई बढी भाडा लिने, यात्रुसँग हुने दुव्र्यवहार नियन्त्रण गर्न यो प्रणालीले निकै सहज बनाउने छ । विशेषगरी सवारी दुर्घटना हुँदा ठूलो सवारीसाधनको मात्र दोष देखिने प्रवृत्तिको अन्त्य गर्न तथा दुर्घटना बिमाको सम्भावित दुरुपयोग रोक्न पनि यसले सहयोग पुर्‍याउन छ ।’

उनका अनुसार जिपिएस प्रणाली जडान भएपछि सवारीधनीले पनि आफ्नो गाडी कुन स्थानमा छ, कस्तो अवस्थामा सञ्चालन भइरहेको छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्नेछन् । यसले सवारीसाधनको नियमित अनुगमन, चालकको जिम्मेवारी र यात्रुको सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

त्यस्तै, सार्वजनिक यातायातमा ड्यासक्यामेरा र सिसीक्यामेरा जडान भएपछि सवारीभित्र हुने गतिविधिको अभिलेख राख्न सकिने भएकाले विवाद समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए ।

उता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले सार्वजनिक सेवाका गाडीमा ड्यासक्यामेरा र सिसीक्यामेरालगायतका प्रविधि जडान गर्ने कार्य यातायात व्यवसायीका लागि सकारात्मक कदम भएको बताए । उनले भने, ‘सार्वजनिक सेवाका सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस जडान गर्नु हाम्रा लागि राम्रो कुरा हो । तर त्यसका लागि सरकारले पनि स्पष्ट कार्यविधि ल्याउन आवश्यक छ । कार्यविधि बनेपछि हामी सबै सवारीसाधनमा जडान गरी अगाडि बढ्न तयार छौँ ।’

सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै यातायात व्यवसायीहरूले समेत गाडीमा ड्यासक्यामेरा र सिसीक्यामेरालगायत प्रविधि जडानमा प्रतिबद्धता जनाएका छन् ।

आगामी दिनमा उपत्यकाभित्र सञ्चालन हुने सबै सार्वजनिक सेवाका सवारीसाधनमा यस्तो प्रणाली अनिवार्य गराउँदै यात्रु सुरक्षा र सवारी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने योजना रहेको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रविधिमार्फत सार्वजनिक यातायातको निगरानी बढेपछि दुर्घटना न्यूनीकरण, यात्रुको गुनासो सम्बोधन तथा चालक–सवारीधनीको जिम्मेवारी निर्धारणमा थप सहजता आउने अपेक्षा गरिएको उनको भनाइ छ ।