काठमाण्डु – राष्ट्रियसभा पूर्व सदस्य तथा संघीयता विज्ञ डा. खिमलाल देवकोटाले मन्त्रीहरू र सचिवहरूको कार्यकक्षमा सीसीटीभी राख्नुपर्ने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भ्रष्टाचार नियन्त्रणका लागि धेरै पहिलेदेखि नै विषय उठाएको स्मरण गराए ।
उनले भने, ‘मन्त्रीहरू र सचिवहरूको कार्यकक्षमा सीसीटीभी राख्नुपर्छ । भ्रष्टाचारको जड र अखडा मन्त्री र सचिवहरूमा छ । त्यसकारण नागरिकले देख्ने गरी सीसी क्यामेरा राख्नुपर्छ । भित्र दलाल र माफियासँग डिल गर्ने काम भएको छ ।’ देवकोटाले आफूले संयुक्त सदनमा यो विषय उठाइसकेको सुनाए ।
उनले अहिले कांग्रेस र एमालेजस्ता २ ठूला दल सरकारमा रहेको भन्दै अहिले सुशासनमा सम्झौता गर्ने स्थिति रहेको टिप्पणी गरे । उनले भने, ‘अहिले कांग्रेस र एमालेजस्ता प्रमुख दलहरू सरकारमा छन् । कडा प्रश्न कसले गर्ने ? त्यो समस्या भएको छ । सुशासनमा सम्झौता गर्ने स्थिति छ ।’
उनले संघीयता कार्यान्वयनको सवालमा केही कमी–कमजोरी भए सुधार गर्न सकिने बताए । उनले मन्त्रालयको संख्या घटाउनुपर्ने सुझाव दिए । उनले भने, ‘मन्त्रालयको सख्या जो राखिएको छ, संस्था धेरै भएका छन् । यो आधाभन्दा बढी घटाउनुपर्छ । हामीले सिंहदबारमा १५ वटा मन्त्रालय हुनुपर्छ भनेर सिफारिश गरेका थियौं । प्रदेशमा पनि मन्त्रालयको संख्या धेरै भएको गुनासो छ । प्रदेश मन्त्रालयको संख्या घटाउनुपर्छ ।’
अहिलेको सरकारले संविधान संशोधन गर्ने कुरामा शंका लागेको उनले बताए । उनले भने, ‘संविधान संशोधनप्रति नेताहरू प्रतिबद्ध हुनुहुन्छ जस्तो लागेको छैन ।’
संविधानमा समानुपातिक समावेशी प्रतिनिधित्व विश्वमै उत्कृष्ट रहेको उनले दाबी गरेका छन् ।




प्रतिक्रिया