सिसिटिभी फुटेज रिकभर: अनुहार चिनिँदैन, झिलिक्क देखिएर कालो आउँछ

सिसिटिभी फुटेज रिकभर: अनुहार चिनिँदैन, झिलिक्क देखिएर कालो आउँछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा फरेन्सिक ल्याबका विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

मङ्गलबार सिंहदरबारमा विहान बसेको समितिको बैठकले प्रहरीको फरेन्सिक ल्याबको रिपोर्ट ल्याबका विज्ञहरुसँग बाटै जानकारी लिन लागेको हो ।

आज बसेको समितिको बैठकमा छानबिन समितिका सदस्यहरूले प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त भएको रिपोर्ट र भिडियोका फुटेज हेरेका थिए । तर ती भिडियोका फुटेज राम्रोसँग नदेखिए पछि समितिका सदस्यहरूले प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा फरेन्सिक ल्याबका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेका हुन् ।

‘सीसीटिभी रिकभर भयो भनेर प्रहरीले पत्र पठाएको छ। साथमा सीसीटिभीका फुटेजहरू पनि छ तर एक सेकेण्ड जति झिलिक्क देखिन्छ, त्यसपछि पूरै खाली-कालो आउँछ । पुन स् झिलिक्क देखिन्छ त्यसपछि फेरि खाली आउँछ । मान्छेहरूको अनुहार प्रष्ट चिनिएको छैन।’,  बैठकपछि संसदीय विशेष छानविन समितिका एक सदस्यले भने ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप लागेपछि त्यसबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरेका थिए । सोही दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले असार राजीनामा दिएका थिए ।