काठमाडौं – नेपाली क्यालेन्डर अर्थात विक्रम संवतको वर्ष २०७५ आइतबारदेखि विदा हुँदैछ । यो वर्ष नेपालमा विभिन्न घटना, दुर्घटना, अपराध, विकास तथा विस्तारका कामहरु भए । बिदा हुँदै गरेको वर्ष २०७५ मा देशमा केही बिर्सनलायक घटना भए ।
राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा यो वर्षभर नै चर्चा परिचर्चा बटुल्ने घटना भए । अपराधका सुल्झिएका र सुल्झिन अझैँ कति समय लाग्ला भन्ने यकिन नभइसकेका घटना भए । २०७५ मा नेपालमा सबैभन्दा ठूलो अपराधको घटना कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या रह्यो । यसले २०७६ मा पनि चर्चा पाउने निश्चित छ ।
यसैवर्ष नेपालमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटना निकै चर्चामा रह्यो । घटनामा संलग्न दुई जना प्रहरी इन्काउन्टरमा मारिए । यी दुई घटनाले अपराध अनुसन्धानको दायित्व भएको नेपाल प्रहरीका उच्च अधिकारीको निदहराम गरिदियो ।
यस्तै फ्रान्सका लागि पूर्वनेपाली राजदूत केशवराज झाको हत्या पनि रहस्मय नै रह्यो । तर, उनको हत्या कसले र किन गरे त्यो पत्ता लागेको छैन । उनको हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।
०७५ मा अपराधकर्मले पनि नेपाली समाजलाई तरंगित गरिरह्यो । देशका विभिन्न भागमा ठूला र आततायी अपराधका घटनाहरू घटे । यस्ता अपराधका घटनामा संलग्न धेरैलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियासमेत अगाडि बढायो तर केही अपराध कर्ममा सक्रियहरू भने फरार छन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या २०७५ कै नेपालको सबैभन्दा ठूलो र विवादित अपराध घटनाकमा दर्ज भएको छ ।
निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्या अभियोगको आशंकामा प्रहरीले १८ जनाभन्दा बढीको डिएनए परीक्षण, हजारौँ व्यक्तिको मोबाइलको कल डिटेल र निर्मलाको शव भेटिएको क्षेत्र नजिकका घरका मानिसलाई सोधुपुछ गरिसकेको छ ।
तर, अझैं यो घटनाले बिट मारेको छैन । जसको कारण प्रहरी संगठन नै आलोचित हुन पुगेको छ ।
निर्मलाको हत्या अनुसन्धानका क्रममा सुरुवाती चरणमा प्रहरीबाट कमजोरी भएको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट सेवाबाट बर्खास्त भएका छन् ।
निर्मलाको न्यायको माग गर्दै सरकार र प्रहरीलाई चौतर्फी दबाब बढ्दो छ । घटनाको अन्तर्राष्ट्रियकरण समेत भएको छ । निर्मला हत्याको अभियोगमा स्थानीय दिलीपसिंह विष्टलाई पक्राउपछि सार्वजनिक गरे पनि डिएनए नमिलेपछि उनी थुनामुक्त भएका थिए । यो घटनामा विदेशमा रहेका नेपालीले पनि आवाज उठाइरहेका छ ।
८ वर्षीय बालक निशानको अपहरणपछि हत्या
गत साउन २० गते आइतबार साँझ ११ वर्षीय बालक निशान खड्का काठमाडौं काँडाघारीबाट अपहरणमा परे । उनको शव भोलिपल्ट हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
अपहरणकारीको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुईजना अपहरणकारी मारिएका थिए । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वर पाइलट बाबा जंगलमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो ।
यो इन्काउन्टरमा पनि शंका उब्जियो । प्रहरीले ती दुईजनालाई घरबाट पक्राउ गरेर जंगलमा लगि मारेको भन्ने कुरा सार्वजनिक भयो । जसको जवाफ गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दिनुपर्यो ।
हाइप्रोफाइल हत्या रहस्यमय
फ्रान्सका लागि पूर्वनेपाली राजदूत केशवराज झाको गत भदौ ५ गते हत्या भयो । बबरमहलस्थित आफ्नै निवासमा उनको सोमबार राति हत्या भएको थियो ।
झाको टाउको र घाटीमा गम्भीर चोट लागेको थियो । तर, उनको हत्या कसले र किन गरे त्यो पत्ता लागेको छैन । प्रहरीका अनुसार अनुसन्धान अझै जारी छ ।
हत्या भएकै दिन प्रहरीले झाको घरमा सुरक्षा गार्ड काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । तर, उनीहरूले नै हत्या गरेको यथेष्ट प्रमाण नभेटेपछि तीनैजना आठ–आठ हजार रुपैयाँ धरौटीमा थुनामुक्त भएका थिए ।
त्यसपछि भने प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । हाल महानगरीय अपराध महाशाखा र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हत्या अनुसन्धान गरिरहेको छ ।
प्रहरीको जवाफी फायर
गत मंसिर २१ गते प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको रातोपुलबाट डकैती घटनामा संलग्न राजन लिम्बूलाई पक्राउ गर्यो ।
लिम्बुलाई पक्राउ गर्दा प्रहरीले गोली चलाउनु पर्यो । प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका–५ घर भएका राजन लिम्बू घाइते भए ।
लिम्बूसँग पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर खोलेको थियो ।
लिम्बूको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामदसमेत भएको थियो । प्रहरीका अनुसार उनी नामुक डाँका हुन् । उनीमाथि दर्जन बढी लुटपाटको अभियोग थियो ।
अख्तियार घुस प्रकरण
गत फागुन २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भयो । खुलासा भएसँगै आयुक्त पाठकले राजीनामा दिए ।
पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको हो ।
पाठकमाथि नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा ७८ लाख रुपैयाँ घुस लिएको आरोप छ ।
हाल अख्तियारमा घुस दिने र लिने दुवैमाथि अनुसनधान र बयान लिने काम भइरहेको अख्तियार स्रोतले जनाएको छ । भ्रष्टाचार रोक्ने निकायका कर्मचारी नै घुस प्रकरणमा मुछिनु कति सान्दर्भिक होला ?
रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु
गत फागुन १५ गते पूर्वी नेपालको ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रहेका रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भयो ।
एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारीलगायत प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ र यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पालाई लिएर उक्त हेलिकप्टर काठमाडौंबाट ताप्लेजुङ गएको थियो ।
त्यहाँबाट हेलिकप्टर हिन्दु तिर्थस्थल पाथीभरा मन्दिरतिर जाने क्रममा दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटनालाई कतिपयले रहस्मय भनेर टिकाटिप्पणी गरिरहेका छन् ।
बहालवाल मन्त्री अधिकारीको मृत्यु भएको एक महिना बढी हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म पर्यटनमन्त्रीमा कसैलाई नियुक्त गरेका छैनन् । यो घटना धेरैको नजरमा रहस्मय नै छ ।
रविन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका युवा नेता हुन् । साथै केन्द्रीय सदस्य समेत थिए । संविधानसभा–२ को निर्वाचनमा उनी कास्की जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
अनेरास्ववियूका अध्यक्ष भइसकेका अधिकारी संविधानको सभा–१ को चुनावमा कास्की क्षेत्र न ३ बाट भारि वहुमतका साथ संविधान सभासद बन्ने मौका पाएका थिए । विद्यार्थीले पाउने यातायातको छुट उनैले गराएका हुन् ।
विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध
सरकारले मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधि गरिरहेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई गत फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गर्यो ।
चन्द समूहले विस्फोट, आजगनी र जबर्जस्ती चन्दा असुली तथा जनप्रतिनिधिलाई राजीनामा दिन धम्की दिन थालेकाले उक्त समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।
केही महिनाअघि एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चन्दा असुली र विस्फोटमा संलग्न चन्द समूहसँग सरकारले वार्ता नगर्ने चेतावनी दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले चन्दको पार्टीलाई प्रतिबन्ध लगाएको हो ।
विप्लवका कार्यकर्ताले ललितपुरको एनसेल टावरमा बम विस्फोट गराउँदा एक सर्वसाधारणको अनाहकमा ज्यान गएको थियो । यस्तै सो समूहले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा विस्फोट गराएको थियो ।
प्रतिबन्धपछि विप्लवका सयौं नेता÷कार्यकर्ता पक्राउ परेका छन् । विप्लवले यही वैशाख ५ गते नेपाल बन्दको आह्वान समेत गरेका छन् । यो घटनाले सरकारको टाउको दुखाउने निश्चित नै छ । मुलुकमा थप राजनीतिक द्वन्द्व निम्तिने संकेत देखिएको छ ।
बारामा भीषण हावाहुरी
गत हप्ता तराईका दुई जिल्लामा जनधनको ठूलो क्षति पुर्याउनेगरी आएको शक्तिशाली हावाहुरी ‘टोर्नेडो’ भएको पुष्टि भएको छ । बारा र पर्सा जिल्लामा गत चैत १७ गते आइतबार साँझ भीषण हावाहुरी आएको थियो ।
हावाहुरीका कारण २८ जनाको मृत्यु भयो भने ४०० बढी घाइते भए । हावाहुरीका कारण व्यापक जनधनको क्षति भयो । सयौं मानिसहरु अलपत्र परे । हावाहुरीले ३ मिनेटमा एउटा गाउँ नै सखाप पार्यो ।
नेपालमा अहिलेसम्म यस्तो विनाशकारी आँधी आएको थिएन् । मौसम विभागकाअनुसार दुवै दिशाबाट आएको हावा बारा आसपास क्षेत्रमा भेट हुँदा प्रतिघन्टा ९० किलोमिटरको गति लिएको थियो । प्रि–मनसुनमा मेघ गर्जनसहित हावाहुरी चल्ने गरे पनि बारा–पर्सामा चलेको हुरी अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ ।
यतिबेला हाहुरीबाट प्रभावित क्षेत्रका स्थानीयहरुलाई विभिन्न ठाउँबाट सहयोग आइरहेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पीडितहरुको घाउमा मलम लगाउने काम गरिरहेका छन् ।
प्रतिक्रिया