काठमाण्डु – भारतको प्रमुख परम्परागत नास्ता ब्राण्ड बिकाजी फूड्स इन्टरनेसनल लिमिटेड (बिकाजी) ले नेपालको प्रमुख व्यावसायिक समूह चौधरी ग्रूप (सीजी)सँग संयुक्त उद्यम र शेयरधनी सम्झौतालाई स्वीकृति दिएको छ ।
साझेदारी बिकाजीको नेपालमा ब्राण्ड सुदृढ़ गर्ने प्रतिबद्धता र अन्तर्राष्ट्रिय विस्तार रणनीतिमा एउटा महत्त्वपूर्ण कदम हो ।
नेपालको बजारमा बिकाजीका उत्पादहरू जस्तै भुजिया, नमकिन, पापड़, प्याकेज्ड मिठाइ अनि अन्य नास्ताहरूको उत्पादन, व्यापार र प्रवर्द्धन गर्नमा केन्द्रित हुनेछ । दुवै कम्पनीको अनुभवलाई जोड़ेर नेपाली बजारमा विस्तार गर्ने योजना बनाइएको छ ।
सम्झौताअनुसार संयुक्त कम्पनीमा बिकाजी र सीजी फूड्सको समान स्वामित्व ५०–५० प्रतिशत रहनेछ ।
नेपाली स्वाद अनुसारका शुद्ध, रचनात्मक र स्वास्थ्यकर उत्पादन ल्याएर बिकाजीले दीगो साझेदारी र स्थानीय सशक्तीकरणमार्फत अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गरेको छ ।
बिकाजी फूड्स इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपक अग्रवालले भने, ‘यो संयुक्त उद्यम बिकाजीको अन्तर्राष्ट्रिय यात्रामा एक महत्त्वपूर्ण मोड़ हो र नेपाललाई हाम्रो रणनीतिक बजारको रूपमा देखाउँछ । सीजी ग्रुपको सशक्त नेतृत्व र स्थानीय बुझाइसित हामी नेपाली उपभोक्तालाई गुणस्तरीय र किफायती उत्पाद दिन सक्षम हुनेछौं भन्ने विषयमा विश्वस्त छौं ।’
सीजी फूड्स नेपाल लिमिटेडका निर्देशक वरुण चौधरीले यस सहकार्यले नेपालमा उच्चस्तरीय खाद्य नवप्रवर्तन ल्याउने प्रतिबद्धता जनाउँदै बिकाजीसँगको साझेदारीले भारतका विविध र समृद्ध स्वादलाई नेपाली दैनिक नास्तामा सहजै घुलमिल पार्ने सपना देखिरहेका बताए ।
लगभग ३ करोड़ जनसंख्या रहेको नेपालको एफएमसीजी बजारको मूल्य १ अरब डलरभन्दा अधिक छ ।




प्रतिक्रिया