काठमाण्डु – देशमा राजनीतिक अन्योल, आर्थिक अनिश्चितता र निजी क्षेत्रले खेपिरहेको चुनौतीपूर्ण वातावरणबीच चौधरी ग्रूपले वैदेशिक लगानी भित्र्याएको छ ।
चौधरी ग्रूपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेसनलसँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको छ ।
बुधबार आयोजित भूमि पूजन समारोहमा चौधरी ग्रूपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका हुन् । समारोहमा चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरीको समेत उपस्थिति थियो ।
हालैको जेनजी आन्दोलनका क्रममा चौधरी ग्रूपका व्यवसायिक प्रतिष्ठानहरूमाथि आगजनी एवं तोडफोड भएको थियो । सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमाथि आगजनी गरेर ध्वस्त बनाइनुका साथै ग्रूपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो ।
घटनापछि ग्रूपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका बाबजुद सीजीको नेपालप्रतिको प्रतिबद्धतामा कमी नआउने र नेपालको आर्थिक विकासका लागि नयाँ सोंचका साथ अगाडि बढ्ने संकल्प सार्वजनिक गरेका थिए । घटनाको करीब डेढ महिना बितिरहँदा चौधरीले ग्रूपले नेपालमा बहुराष्ट्रिय कम्पनीलाई भित्र्याएको छ ।
बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको फ्याक्ट्रीमार्फत भुजिया, नमकीन लगायत बिकाजीका अन्य लोकप्रिय स्न्याक्सहरूको उत्पादन गरिनेछ । साझेदारी नेपालको खाद्य उद्योगलाई नयाँ गतिमा अघि बढाउने, आयातमा निर्भरता घटाउने र नेपाली बजारका लागि विश्वस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास दुवै कम्पनीले लिएका छन् ।
प्लान्टमा पहिलो चरणमा करीब ५० करोड रूपैयाँ लगानी हुनेछ भने करीब ४०० रोजगारी सिर्जना हुनेछ । शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले भने, ‘नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जाको आवश्यकता रहेको समयमा हामीले नेपालमा नयाँ क्षेत्रमा लगानी गर्दैछौं । यसले नेपालप्रति चौधरी ग्रूपको गहिरो प्रतिबद्धतालाई व्यवहारमा पुन: पुष्टि गर्दछ ।’
निराशाबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा लगानीले नयाँ आशाको सञ्चार गर्ने विश्वास पनि प्रबन्ध निर्देशक चौधरीले व्यक्त गरे । प्लान्टको स्थापनाले स्थानीय रोजगारीमा नयाँ अवसरहरू सिर्जना हुनेछन् । प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै स्थानीय किसान र आपूर्तिकर्तालाई लाभ पुर्याउने र नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउन यस पहलले सकारात्मक योगदान पुग्ने पनि चौधरीले बताए ।
चौधरी ग्रूपअन्तर्गत रहेको सीजी फुड्स नेपालको अग्रणी फुड उत्पादक कम्पनी हो । सीजी फुड्सका उत्पादन ६३ देशहरूमा फैलिएका छन् । विश्वभर चर्चित ‘वाइ वाइ’ ब्रान्डको निर्माता सीजी फुड्सले अब नयाँ–नयाँ उत्पादन वर्गहरूमा विस्तार गर्दै नवप्रवर्तन, रोजगारी सिर्जना र राष्ट्रिय औद्योगिकीकरणलाई बल पुर्याइरहेको छ ।




प्रतिक्रिया