सांसद यादवको सुटुक्क राजीनामा, चर्चामा सीके राउत

सांसद यादवको सुटुक्क राजीनामा, चर्चामा सीके राउत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन् । राजीनामा दिनुको कारणबारे सांसद यादवले केही बोल्न चाहेनन् ।

समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले डा. यादवको राजीनाबारे जानकारी गराएका थिए । अध्यक्ष यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा स्वीकृत नगर्न आग्रह गरेका छन् ।

समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले डा. यादवको राजीनामाबारे पार्टीलाई कुनै जानकारी नभएको बताए । ‘उहाँले किन राजीनामा दिनुभयो, थाहा हुन सकेको छैन’, अधिकारीले भने, ‘हामी यसबारे बुझ्दै छौं ।’ डा. यादव जनकपुरका बालरोग विशेषज्ञ हुन् । राजनीतिमा खासै सक्रिय नदेखिएका डा. यादव निर्वाचनमा एक्कासि फोरमको उम्मेदवारका रूपमा चुनावी मैदानमा देखिएका थिए ।

पार्टी स्रोतका अनुसार अध्यक्ष यादव र सांसद डा. यादवबीच ५–६ महिनायता मनमुटाव देखिँदै आएको थियो । सांसद यादव निकट एक नेताले अध्यक्ष यादव सरकारमा गएपछि सांसद यादव स्वास्थ्य राज्यमन्त्री बन्ने दाउमा रहेको बताए । तर अध्यक्ष यादवले अर्का चिकित्सक डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाएपछि उनी चिढिएका थिए । सांसद यादवको राजीनामा उपचुनावसँग जोड्न थालिएको छ । यादवको राजीनामा स्वीकृत भएमा सप्तरी १ मा उपचुनाव हुन्छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।