गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई काठमाण्डुको ठमेल र महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको हो । गुण्डागर्दीमा संलग्न भएको जनाउदै उनीहहरू पक्राउ परेका हुन् ।

प्रहरीले चक्रे मिलनलाई महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ गरेको हो । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाटै पक्राउ परेर छुटेका थिए ।

चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए ।

दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरुलाई पैसा बाँड्दै हिँडेका देखिएका उनी ठमेलमा केही र्‍यापरहरुसँग समेत देखिएका थिए । उनको जन्मदिनमा भेला भएका समर्थकहरुसँगै चर्चित र्‍यापरहरु समेत पुगेका थिए । त्यहाँ उनले एकैठाउँमा २० वटासम्म केक काटेको थिए ।

उनीसँगै जन्मदिन पार्टी मनाउन पुगेका आपराधिक पृष्ठभूमिका व्यक्तिहरु पनि पक्राउ परेका हुन् । उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङका अनुसार अवाञ्छित गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो ।

ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ परेका छन् । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखास्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ घैँटेका सहयोगी हुन् । कुमार घैँटे प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाण्डु प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।