गुरुङ र थापामाथि लगाएका आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

गुरुङ र थापामाथि लगाएका आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पार्टी उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेलाई गुरुङ र थापामाथि छानबिन गर्न चुनौती दिएका हुन् ।

पाण्डेले भने, ‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि लाञ्छना लगाउनु भएको छ । उपसभापति र महामन्त्रीको नाम किटेर छानबिनको समय पनि तोक्नुहोस् । उहाँहरू दोषी देखिनुभयो भने कारबाही गर्नुहोस् ।’

गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभामा त्रिचन्द्र कलेजको पार्क निर्माण, त्रिविको वेबसाइट डिजाइन, बाख्रा पालन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति, रातो पासपोर्ट, वाइडबडी जहाज, नक्कली भुटानी शरणार्थी, टीकापुरको जग्गा, देशका संवेदनशील सूचना विदेशीलाई बेचेको प्रसंग उठाएका थिए । पाण्डेले आफूले उठाएका विषयमा छानबिन गरेर प्रमाणित गर्न गृहमन्त्री लामिछानेलाई चुनौती दिएका हुन् ।

पाण्डेले राष्ट्रिय सूचना बेच्नेहरू सदनमै रहेको कुरा पुष्टि गर्न पनि पनि गृहमन्त्री लामिछानेलाई चुनौती दिए ।

कांग्रेसले गृहमन्त्रीले संसद्‍मा लगाएको आरोप रेकर्डबाट हटाउनसमेत आग्रह गरेको छ । सहकारी पीडितहरूको बचत फिर्ताका लागि संसदीय छानबिन समितिको क्षेत्राधिकारबारे कांग्रेसको अडान कायमै रहेको समेत पाण्डेले बताए ।