ग्राहकलाई राहत र भरोसा दिने कार्यमा व्यापारी एकजुट हुन चेम्बरको आग्रह

ग्राहकलाई राहत र भरोसा दिने कार्यमा व्यापारी एकजुट हुन चेम्बरको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापार–व्यवसायमा परेको असरलाई मध्यनजर राख्दै कठिन परिस्थितिमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायीलाई अपिल गरेको छ ।

चेम्बरले सोमबार विज्ञप्तिमार्फत अपिल गरेको हो । आगामी तीज, दशैँ, तिहार, छठ, नेपाल संवत्, रमजान लगायतका प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा माग बढ्ने भएकाले आवश्यक वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव तथा मूल्यवृद्धि नगर्न र उपभोक्ताको हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

हालैको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै यातायात, आपूर्ति प्रणाली, व्यापार–व्यवसाय र बजार व्यवस्थापनमा गम्भीर असर परेको चेम्बरले जनाएको छ । विशेषगरी उत्तरी रसुवागढी नाका प्रभावित हुँदा आयात–निर्यात तथा वस्तु आपूर्तिमा समेत अवरोध सिर्जना भएको अवस्थामा आगामी चाडपर्वलाई ध्यानमा राखेर बजारलाई सहज, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।

उद्योगी, व्यवसायी, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यवसायीलाई आफ्नो व्यावसायिक गतिविधि जिम्मेवारीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै चेम्बरले अवरुद्ध राजमार्गका विकल्पमा वैकल्पिक आपूर्ति मार्गको प्रयोग, पर्याप्त भण्डारण तथा प्रभावकारी वितरण प्रणालीको व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिएको छ ।

आवश्यक वस्तुको आपूर्ति अवरुद्ध हुन नदिन निजी क्षेत्रले संयुक्त रूपमा पूर्वतयारी गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । विपद्को कठिन परिस्थितिमा व्यवसायीले नाफाभन्दा माथि उठेर सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने, सरकारले नियन्त्रणभन्दा माथि उठेर सहजीकरण गर्नुपर्ने र उपभोक्ताले अनावश्यक सञ्चय तथा त्रासबाट मुक्त भएर संयमता अपनाउनुपर्ने चेम्बरले उल्लेख गरेको छ ।

विपद्ले सिर्जना गरेको असहज अवस्थालाई कसैले पनि अनुचित व्यापारिक लाभ लिने माध्यम बनाउन नहुने चेम्बरको भनाइ छ । बरु यस्तो कठिन समयमा निजी क्षेत्रले जिम्मेवार भूमिका निर्वाह गर्दै बजारमा विश्वासको वातावरण कायम गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।

सरकार र निजी क्षेत्र दुवै लचिलो, जिम्मेवार तथा सहकार्यात्मक रूपमा अघि बढ्न सके विपद्पछिको बजार व्यवस्थापनलाई सहज बनाउन सकिने चेम्बरले जनाएको छ ।

चेम्बरले व्यवसायी समुदायलाई वस्तुको अनावश्यक सञ्चय नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न, अनुचित मूल्यवृद्धि नगर्न तथा उपभोक्ताको हितलाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ । चेम्बरले आगामी चाडपर्वका लागि आवश्यक पूर्वतयारी गर्दै आमउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भएर लाग्न सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ ।