सम्भावनाहरूलाई अवसरमा बदल्नु आवश्यक छ : अध्यक्ष ढकाल

सम्भावनाहरूलाई अवसरमा बदल्नु आवश्यक छ : अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको बताउँदै ती सम्भावनाहरूलाई अवसरमा बदल्नुपर्ने बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

‘नेपालमा प्राकृतिक स्रोतसाधनको प्रचुर सम्भावना छ । हामीले यसलाई ‘क्यापिटलाइज’ गर्न सक्नुपर्छ । यहाँ भएका स्रोतसाधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशीलता पनि विकास हुने र रोजगारी पनि प्रशस्त सिर्जना गर्न सकिन्छ,’ उनले भने ।

अध्यक्ष ढकालले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्नुपर्ने र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताए । ‘मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरताका साथै आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्छ । यसो गर्न सके मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरूको मागअनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसँगै जिल्ला नगर उद्योग वाणिज्य संघबाट महासंघमा जानका लागि अवसर सिर्जना गरेको बताए ।

विक्रम संवत् २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघ पश्चिम नेपालकै अग्रणी संस्था भएको उल्लेख गर्दै अध्यक्ष ढकालले बुटवल उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरूको हकहित संरक्षण, सम्बद्र्धनका साथै यस क्षेत्रको शिक्षा, स्वास्थ्य लगायतका अन्य पूर्वाधारको विकासमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोमा संघको प्रशंसा गरे ।

कृषि, पर्यटन, उद्योग, व्यापार सबै दृष्टिले रुपन्देही नेपालकै उर्वरभूमि रहेको चर्चा गर्दै अध्यक्ष ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, भन्सार र पछिल्लो समय निर्माण भएका अन्य भौतिक पूर्वाधारको विकास त्यसका आधारहरू रहेको समेत अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योगी व्यवसायीहरूले २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत रूपमा २०१० साथमा बुटवल उद्योग वाणिज्य संघको स्थापना गरेको जानकारी गराउँदै संघको स्थापनासँगै संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको जानकारी गराएका थिए ।