माधव र झलनाथको दोहोरी बेमौसमको बाजा जस्तो, पटक्कै सुहाएन : चन्द्र भण्डारी

माधव र झलनाथको दोहोरी बेमौसमको बाजा जस्तो, पटक्कै सुहाएन : चन्द्र भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच चलिरहेको दोहोरी जनहितसँग कुनै साइनो नभएको बेमौसमको बाजा भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता भण्डारीले पूर्वप्रधानमन्त्री भइसकेका दुवै नेताको दोहोरी पटक्कै नसुहाएको बताएका छन् ।

केही दिनयता दुवै नेताले एकअर्कालाई पार्टी छाडेर एमालेमा जान आरोप–प्रत्यारोप गरिरहेका छन् । अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि दुवै नेताबीच आरोप–प्रत्यारोप चर्किंदै गएको छ ।

नेता भण्डारीले फेसबूकमा लेखेका छन्, ‘पटक्कै सुहाएन ! अप्ठ्यारो समयमा पार्टीको नेतृत्व गरी प्रधानमन्त्री भएर देशको नेतृत्व गरिसकेका, यथास्थितिबाट देश र जनताका समस्या सम्बोधन नहुने ठहर गरी नयाँ पार्टी बनाएका ! आदरणीय माधव नेपालजी र आदरणीय झलनाथ खनालजी बिचको दोहोरी (?) राष्ट्र, जनहितसँग कुनै साइनो नभएको बेमौसमको बाजा जस्तो बनेको छ । नयाँ पुस्ताका लागि आदर्श र अनुकरणीय बन्नुपर्नेमा पद अनुसारको यो शैली भएन ! प्रयोग गरिएका शब्दले वितृष्णा फैलाएको छ ! सुहाएन ! तपाईंहरू हाम्रो पनि नेता हो ! नयाँपिँढीले के सिक्ने ? के अनुशरण गर्ने ?’

नेकपा एमाले विभाजन हुँदा नेताद्वय माधव र झलनाथ एकीकृत समाजवादी पार्टी निर्माणमा लागेका थिए । तर नेता खनालले पार्टी निर्माणको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरिरहेका छन् ।