कमिशनको लोभमा बिकेका नेताहरूले जनतालाई घात गरे : नेता भण्डारी

कमिशनको लोभमा बिकेका नेताहरूले जनतालाई घात गरे : नेता भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कमिशनको लोभमा बिकेका नेताहरूले जनतालाई घात गरेको टिप्पणी गरेका छन् ।

शनिबार रुपन्देहीको बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै नेता भण्डारीले देश बनाउँछु भनेर हिँडेका नेताहरूले आफ्ना छोराहरूलाई सुन बोकाउन सिकाएको बताए ।

देशका १२ जना नेताहरूकै कारण मुलुक आर्थिक रूपमा तहसनहस बनिरहेको उनले बताए । ‘सत्तामा हुँदा जनताको काम गर्लान् भनेको सन्तानलाई सुन तस्करी गर्न सिकाउँछन्,’ उनले भने, ‘यस्ता नेताहरूबाट देश बन्छ भनेर कहिलेसम्म कुरिरहने ?’ ३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरहेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्न समेत सचेत गराए ।

‘जसले घुस खाँदैन, उसलाई छान्नुस् त मुलुक २ दिनमा बन्छ,’ उनले भने, ‘नेताको दास बनेर देश बन्छ भन्नु कल्पना मात्र हुनेछ ।’

अदूरदर्शी नेतृत्वका कारण अर्बौं रुपैयाँ ऋण लिएर बनाएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल अलपत्र पर्नुले निजी क्षेत्रलाई निरुत्साहित बनाएको भण्डारीले बताए । ‘नचलाउने भए यतिका धेरै खर्च गरेर किन एयरपोर्ट बनाउनु ?’ उनले भने, ‘एयरपोर्टका ठाउँमा सुनवलदेखि पोखरासम्म ५ लेनको सडक बनाएको भए करोडौं भारतीय पर्यटकलाई भित्र्याउन सकिन्थ्यो । यो क्षेत्र आर्थिक रूपमा धेरै माथि जान्थ्यो ।’