काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि कानूनी सुधार आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका भावी अध्यक्ष अञ्जन श्रेष्ठ समूहको पदाधिकारी तथा कार्यकारिणी सदस्य घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानी वातावरण सुधारका लागि राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘नेपालमा लगानीको वातावरण हुन सकेन, त्यसका लागि कानूनहरू परिवर्तन गर्नुपर्छ भन्ने विषयमा हामीले राष्ट्रिय बहस सुरु गर्नुपर्ने आवश्यकता औँल्यायौं । सो बहसमा सबै राजनीतिक दल, निजी क्षेत्र लगायत सरोकारवालालाई सहभागी गराएर छलफल गर्नुपर्नेमा जोड दिएका थियौं । त्यसकै परिणामस्वरूप नेपाल सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्यो ।’
अध्यक्ष ढकालले आयोगले परम्परागत कानूनहरू परिवर्तन गर्न विभिन्न सुझावहरू दिएको बताए । वर्तमान अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको आयोगले दिएका सुझावका आधारमा करीब ३० भन्दा बढी कानूनहरू संशोधन भइसकेका छन् भने केही कानूनहरू परिवर्तन हुने क्रममा रहेको उनले जानकारी गराए ।
उनले भने, ‘वर्तमान अर्थमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्यौं । त्यो आयोगले धेरै सुझावहरू दियो । आयोगको सुझावको आधारमा करीब ३० भन्दा बढी कानूनहरू परिवर्तन भयो । कतिपय कानूनहरू परिवर्तन हुने क्रममा छन् । त्यसमा निजी क्षेत्रको प्रतिनिधित्वको रूपमा म पनि एउटा सदस्यको रूपमा काम गरेको थिए ।’
निजी क्षेत्रको प्रतिनिधिका रूपमा आफू पनि आयोगमा सदस्यका रूपमा संलग्न रहेको उनले जानकारी दिए । व्यवसायीहरूलाई दीर्घकालदेखि प्रभावित पार्दै आएको कालोबजारी ऐन लगायतका विभिन्न कानूनहरूमा समेत सुधार भएको उनले बताए ।
उनले भने, ‘निजी क्षेत्रको वर्षाैँदेखिको एउटा कालोबजारी ऐन जुन चिजले व्यवसायीको घाँटीमा तरबार झुण्ड्याएको जस्तो कानूनहरू थियो । त्यो लगायत धेरै कानूनहरू परिवर्तन भए । कतिपय कानूनहरू अझै परिवर्तन हुने क्रममा रहेको कुरा पनि जानकारी गराउन चाहन्छु ।’
अध्यक्ष ढकालले नेपालमा सम्भावना छैन भन्ने नकारात्मक धारणा तोड्न निजी क्षेत्रले प्रयास गरेको बताए । ‘नेपालमा घरेलु पूँजी परिचालन गरेर पनि ठूला आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि हामीले १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी’ अगाडि बढाएका छौं,’ उनले भने ।
कम्पनीले क्रमश: आफ्नो काम अघि बढाइरहेको जानकारी पनि उनले कार्यक्रममा दिएका थिए ।




प्रतिक्रिया