पुर्वसांसद खड्काले डाक्टरलाई एम्बुलेन्सभित्र थुनेर थर्काए

पुर्वसांसद खड्काले डाक्टरलाई एम्बुलेन्सभित्र थुनेर थर्काए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभाका पुर्वसदस्य चन्द्र बहादुर खड्काले अर्घाखाँची अस्पतालका चिकित्सकहरुलाई दुर्व्यवहार गरेका छन् । आफ्नी आमालाई कोभिडको उपचार गराउन अस्पताल पुगेका खड्काले अस्पतालका निमित्त प्रमुख डा. कपिल गौतम, डा. पुजा पन्थी लगायतलाई अपशब्द प्रयोग गरेका छन् ।

अस्पतालले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रममित आमाको उपचारकालागि पुगेका खड्कालाई कोभिड निमोनियाको जटिलताको बिषयमा जानकारी गराई थप उपचारको लागि काठमाण्डौं जाने परामर्श दिँदा उनले अपशब्द प्रयोग गरेको बताइएको छ ।

‘केही समय आकस्मिक कक्षको अब्जरभेसन एरियामा राखी उपचार गरीएको र कोभिड निमोनियाको जटिलताको बिषयमा जानकारी गराई थप उपचारको लागि काठमाण्डौं जाने परामर्श दिई रिफर गरिएको थियो । आकस्मिक कक्षबाट डा.कपिल गौतम र डा.पूजा पन्थले रिफरको पुर्जि बुझाई अन्य बिरामी जाँच गरिरहेको र सोहि समयमा बिरामी एम्बुलेन्समा सार्ने क्रममा उहाँबाट डा.पूजा पन्थ तथा अन्य स्वास्थ्यकर्मी माथि तँ को हो ? यहाँको ओ .जे.टी., नर्स डाक्टर सबैको नाम लेखेर दे, मेरो बिरामीलाई केहि तलमाथी भयो भने सब जिम्मेबार हुन्छौं भन्ने जस्ता धम्कीपूर्ण शब्दहरु प्रयोग, गालीगलौज तथा अभद्र व्यवहार गरेको प्रत्यक्षदर्शी तथा संलग्न स्वास्थ्यकर्मीबाट जानकारी भएको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।

डा.कपिल गौतम एम्बुलेन्स भित्र प्रवेश गरी कोभिड बिरामीको प्रकृति अनुसार अक्सिजन मिलाइरहेको अवस्थामा बाहिरबाट एम्बुलेन्सको ढोका लगाई, यो डाक्टरको काम छैन, यसलाई पनि काठमाण्ड लैजानुपर्छ, बिरामी सँगै जान्छ, जस्ता अभद्र अपशब्द प्रयोग गरि चालकलाई एम्बुलेन्स अगाडी बढाउन दबाब दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

अस्पताल प्रशासनले सत्य तथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गरेको छ । खड्का माओवादी केन्द्रकोतर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । एमाले र माओवादी पार्टी एकिकरण भएर विभाजन भएसँगै उनी एमालेतर्फ लागेका थिए । माओवादी केन्द्रले उनलाई पार्टीबाट कारवाही गरी संसदबाट निलम्बन गरेको थियो ।