काठमाण्डु– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले ‘हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको’ टिप्पणी गरेका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले सभापति देउवाले पार्टीका धेरै सदस्यलाई पद र जिम्मेवारी दिए पनि उनीहरूबाट अपेक्षित काम हुन नसकेको प्रतीकात्मक व्याख्या गरेका हुन्।
सभापति देउवा फेरि प्रधानमन्त्री बनेपछि गर्ने काम र निर्णयका लागि पर्याप्त पूर्वतयारी आवश्यक रहेकोमा उनले जोड दिए।
नेता भण्डारीले पार्टीको प्रशिक्षण कार्यक्रममा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै, विषयवस्तु र प्रशिक्षकहरू परिवर्तन गर्न सुझाव दिए।
पार्टीका भातृ संगठनहरूमा निर्वाचन नगराई मनोनयन गर्दा ती संगठनहरू प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले भने, “समिति आफैंले बनाउने तर चलाउने काम अर्कोलाई दिने गर्दा काम गर्न सकिएन।”
पार्टी नेताहरूबीच द्वन्द्व हुँदा हाँसेर रमिता हेर्ने होइन, समाधानको प्रयास गर्नुपर्नेमा उनले जोड दिए।
सीमान्तकृत वर्गले सेयर पाउने गरी ल्याइएको जलस्रोत नीतिलाई पार्टीले अपनत्व लिनुपर्ने बताउँदै उनले उक्त नीतिबाट देशको गरिबी निवारणमा ठूलो योगदान पुग्ने दाबी गरे।
नेता भण्डारीले आगामी निर्वाचनमा नकारात्मक असर नपर्ने गरी पार्टीको महाधिवेशन गर्नुपर्नेमा जोड दिए।
उनले भने, “सामाजिक सञ्जालमा उठेका विषयवस्तुहरूलाई हामीले नजिकबाट नियाल्नुपर्छ र सुन्न सक्नुपर्छ। हाम्रा तीनै तहका सरकारका काम–कारबाहीको निर्मम समीक्षा गरी सुधारतर्फ लाग्नुपर्छ।”
राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू पार्टीको रसिद काटेर फर्किंदा राजनीतिप्रति वितृष्णा र आलोचना अझै बढ्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
निजामती विधेयक पारित गर्दा देखिएको त्रुटि कुनै एक व्यक्तिको नभई सम्पूर्ण सांसदहरूको साझा जिम्मेवारी भएको उनको तर्क थियो।
नेता भण्डारीले विद्यालय शिक्षा विधेयक, युवाशक्तिको पलायन, कृषकलाई मल–बिउ लगायत अनुदानको पहुँच, रूपन्देही र मनाङमा हुने उपनिर्वाचनजस्ता विषयमा पनि धारणा व्यक्त गरे।
प्रतिक्रिया