जुन मुलुकले निजी क्षेत्रको महत्व बुझ्यो त्यसको प्रगति तीब्र भएको छ : अध्यक्ष ढकाल

जुन मुलुकले निजी क्षेत्रको महत्व बुझ्यो त्यसको प्रगति तीब्र भएको छ : अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ उद्घाटनमा बोल्दै अध्यक्ष ढकालले सरकारको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउनु पर्ने बताएका हुन् ।

उनले भने-‘सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी गर्नुपर्यो । पैसा लगानी गर्ने मुख्य दुई निकाय हुन्छन, एउटा सरकार र दोस्रो निजी क्षेत्र । सरकारले लगानीका लागि पैसा मुख्यतया राजश्वबाट नै ल्याउने हो । राजश्व उद्यमी, व्यवसायी र सर्वसाधारणबाट उठ्छ । सर्वसाधारणको आम्दानीको मुख्य स्रोत पनि निजी क्षेत्र हो किनभने अधिकांश रोजगारी निजी क्षेत्रले नै सिर्जना गरेको हुन्छ ।’

‘अन्तराष्ट्रिय वित्त निगम र महासंघले गत वर्ष गरेको अध्ययनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखाएको छ, त्यसैले सरकारको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्छ ।’-उनले थपे

विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उनले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा उनको छ ।

प्रतिकूलतामा अनुकूलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार र निजी क्षेत्र लाग्नुपर्नेमा अध्यक्ष ढकालको जोड छ ।

‘म निराशा होइन, आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर, हाम्रा युवाको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहित रोजगारीका अवसर सिर्जना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिँदैन, अहिले व्याप्त निराशा त्यसैको परिणाम हो,’ उनले भने ।

पछिल्ला दुई वर्षमा भारत, चीन र यूएईमा सम्पन्न चार वटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै उनले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताए ।

जुन मुलुकले निजी क्षेत्रको महत्व बुझ्यो त्यसको प्रगति तीब्र भएको उनले बताए । उनले भने बंगलादेश, रुवान्डा, क्याम्बोडिया, भियतनाम, लाओस जो हामी जस्तै थिए, अहिले प्रगतिपथमा हामीलाई उछिन्दैछन । यो सम्भव छ, निजी क्षेत्र अगाडि बढेपछि भारतमा प्रति बर्ष १.४ प्रतिशतका दरले गरिबी घटिरहेको छ । बीस बर्षमा करिब ५० करोड सर्वसाधारण गरिबीको रेखाबाट माथि उठेका छन् ।

विश्वव्यापी नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिष्पर्धी देशको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकाले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।