काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यवसायीले कमाएको देख्न नसक्ने नकारात्मक सोच अन्त्य हुनुपर्ने बताएका छन् ।
अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई हतोत्साहित गर्ने प्रवृत्तिले देशको आर्थिक विकासमा प्रत्यक्ष असर पार्ने चेतावनी दिए ।
उनले भने, ‘निजी क्षेत्र देशको अर्थतन्त्रको ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी दिने क्षेत्र हो । यस्तो क्षेत्रमा आक्रमण हुनु वा बदनाम गर्ने प्रयास हुनु अत्यन्तै गलत सन्देश हो ।’
नेपालमा व्यवसायी र लगानीकर्ताप्रतिको नकारात्मक मानसिकता गहिरिँदै गएको बताउँदै उनले भने, ‘सामाजिक सञ्जाल र सार्वजनिक धारणा दुवैमा व्यवसायी भनेका नाफा मात्रै कमाउने हुन् भन्ने गलत सोच बसालिएको छ । यो मानसिकता परिवर्तन नगरेसम्म आर्थिक रूपान्तरण असम्भव छ ।’
ढकालका अनुसार नेपालमा अझै थुप्रै क्षेत्रमा लगानी र नवप्रवर्तनका सम्भावना छन् । उनले भने, ‘नेपालमा सम्भावना नै छैन भन्ने कुरा गलत हो । हामीले धेरै क्षेत्र अझै एक्स्प्लोर गरेका छैनौं । जतिधेरै खोज्यौं, त्यतिधेरै अवसर भेटिन्छ ।’
नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले र निजी क्षेत्रले सँगसँगै काम गरिरहेको उनले बताए । ‘नेपाल उद्योग वाणिज्य महासंघको पहलमा ३० भन्दा बढी कानून संशोधन भएका छन् । लगानीको वातावरण सुधार्न उच्चस्तरीय आयोगका सिफारिस पनि कार्यान्वयन भइरहेका छन्,’ उनले भने ।
उनले हालै स्वदेशी व्यवसायी र गैरआवासीय नेपालीको संयुक्त लगानीमा १० अर्ब रुपैयाँ पूँजीसहित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) स्थापना गरेर काम सुरु गरिएको बताए । वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न महासंघले एफडीआई हेल्प डेस्क स्थापना गरेको उनले जानकारी दिए ।
उनले अमेरिकामा रहेका नेपाली लगानीकर्ताहरूसँग नेपालमै लगानी गर्न आग्रह गर्दै भने, ‘नेपालमा लगानीका लागि राम्रो अवसर र वातावरण दुवै छन् । यसलाई उपयोग गर्न अब हामी सबैले सकारात्मक सोचसहित अघि बढ्नुपर्छ ।’
अध्यक्ष ढकालले देशभित्र व्यवसायीको सफलता र कमाइलाई गलत दृष्टिले हेर्ने प्रवृत्तिलाई अन्त्य गर्न आग्रह गर्दै भने, ‘व्यवसायीले कमाउँदा देशले पनि कमाउँछ । त्यसैले विकासका लागि लगानी र व्यवसायप्रति सम्मानजनक दृष्टिकोण आवश्यक छ ।’




प्रतिक्रिया