काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन आवश्यक रहेको बताएका छन् ।
काभ्रे उद्योग वाणिज्य संघको ४३औं वार्षिक साधारणसभा तथा ५९औं स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने बताए ।
देशमै छरिएर रहेको पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्ने उनले बताए । अध्यक्षका ढकालले त्यसैको लागि महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम सुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पुँजीको अभाव नहुने बताए ।
देशको आर्थिक वातावरण सुधार गर्न महासंघ निरन्तर बहस र पैरवी गरिरहेको चर्चा गर्दै अध्यक्ष ढकालले सुशासन, पारदर्शिता, नीतिगत स्थायित्वको विषयलाई महासंघको प्राथमिकता साथ उठाएको बताए ।
महासंघको पहलमा लामो समयदेखिको ट्रंक तथा डेडिकेटेर लाइनको समस्या समाधानको लागि सरकारसँग सहमतिको प्रयास गरेको र यो प्रयाससँगै विद्युत्को विषयले दीर्घकालीन समाधान खोज्ने विश्वास लिएको उनले बताए ।
अध्यक्ष ढकालले जिल्ला/नगर वाणिज्य संघहरूको माग अनुरूप विधान संशोधन गरी २ जना उपाध्यक्षको व्यवस्था गरिएको जानकारी दिँदै यो व्यवस्थाबाट जिल्ला नगर वाणिज्य संघहरू लाभान्वित हुने बताए ।
उनले सबैको साझा लक्ष्य स्थायी आर्थिक समृद्धि, उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना र स्वावलम्बी नेपाल भएकाले यसको सहकार्यका लागि महासंघ सधैं तयार रहेको बताए ।




प्रतिक्रिया