काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने सरकारी निर्णयलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।
मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले हालैको मन्त्रिपरिषद् बैठकले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ सम्बन्धी निर्णय गरेको जानकारी दिएका हुन् ।
उनले निजी क्षेत्रका सुरक्षादेखि परियोजना कार्यान्वयनसम्म देखिएका समस्याहरू समाधान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।साना समस्याका कारण वर्षौंदेखि रोकिएका आयोजनाहरूका लागि समेत यो योजना प्रभावकारी हुने उनले बताए ।
उनले भने, ‘सरकारको पहिलो क्याविनेटबाट ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ भनेर बैठकले निर्णय गरेको छ । त्यसले हाम्रा हरेक समस्याहरुको समाधान गर्छजस्तो लाग्छ । चाँहे सुरक्षाको कुरा होस् वा प्रोजेक्टहरु होस । जुन सानो समस्याले वर्षौदेखि रोकिएको छ । तर दोष चाहीं निर्माण व्यवसायीहरुले लिनुपरेको छ । त्यसको लागि क्याविनेटबाट प्राइभेट सेक्टर प्रोकेक्सन एण्ड प्रमोशन प्लान भनेको छ । यो निजी क्षेत्रको लागि ठूलो उपलव्धि हो’
उनले २०४६ सालपछि भएका विभिन्न आन्दोलनहरूमा निजी क्षेत्रका व्यवसायी, प्रतिष्ठान तथा व्यक्तिहरू नै लक्षित हुने गरेको अनुभव सुनाए । यस्तो प्रवृत्ति अन्त्य गर्न सरकारबाट स्पष्ट सन्देश आवश्यक रहेको उनले बताए ।
‘०४६ सालका आन्दोलन पछि अहिलेसम्मका हरेक आन्दोलनमा हाम्रा निजी क्षेत्रका व्यवसायीहरु, व्यवसायी प्रतिष्ठानहरु, व्यक्तिहरु पनि टार्गेट हुने गरेको महसुस गरेका छौं,’ उनले भने ।
ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्ने, देशको राजस्वमा करिब ८० प्रतिशत योगदान गर्ने र पूर्वाधार विकासमा अग्रणी भूमिका खेल्ने क्षेत्रका रूपमा उल्लेख गर्दै यसको महत्वलाई नजरअन्दाज गर्न नहुने बताए । ‘प्राइभेट सेक्टरविना हाम्रो जीवन कल्पना गर्न सकिँदैन,’ उनले भने ।




प्रतिक्रिया