चन्द्रागिरिका ६५ जनामा आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा राखियो

चन्द्रागिरिका ६५ जनामा आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा राखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्रागिरि नगरपालिकाका ६५ जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिका विभिन्न व्यक्तिको आरडिटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए।

“विभिन्न जिल्लाबाट बन्दाबन्दीपछि चन्द्रागिरि प्रवेश गरेका व्यक्तिमा आरडिटी परीक्षण गर्दा उनीहरुमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो”, उनले बताए ।

चन्द्रागिरिले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मङ्गल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरि कटेज र एक जनालाई होम क्वारेन्टाइनमा राखेको छ । चन्द्रागिरी क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं ८ का अध्यक्ष सन्तोष खड्काको संयोजकत्वमा रहेको समितिले क्वारेन्टिनभित्रको खाना, स्वास्थ्य, शौचालय, फोहर व्यवस्थापनको काम गर्दै आएको छ ।

क्वारेन्टिनभित्रको सुरक्षाको जिम्मा भने नेपाल प्रहरी र नेपाली सेनाले लिँदै आएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । चन्द्रागिरिमा आरडिटीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको पिसीआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । चन्द्रागिरिले नगरप्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत १०६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ ।