काठमाण्डु– आइतबार खग्रास ग्रहण लाग्दैछ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास अर्थात् पूरै ढाकिने चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने छ । राति ११:५६ मा चन्द्रग्रहणको मध्य हुनेछ भने राति ०१:४१ बजे ग्रहण सकिने छ ।
कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।
समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार काठमाण्डुको आकाशबाट पनि चन्द्रग्रहण देखिने छ । काठमाण्डुमा साढे तीन घण्टा चन्द्रग्रहण रहनेछ ।
यो २०८२ सालको पहिलो ग्रहण हो । आउँदो फाल्गुन १९ गते शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।
यो खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिएका छन् ।
ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ ।आइतबार दिउँसो १ः११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन ।
ग्रहणको समयसूची (नेपाली समय अनुसार)
विरल छायाँले ढाक्न सुरु गर्ने : २२ गते राति ९ः१३ बजे
खग्रास सुरु (सघन छायाँले ढाक्ने) २२ गते राति ११ः१५ बजे
ग्रहणको मध्य : २२ गते राति ११ः५६ बजे
खग्रास समाप्त (सघन छायाँले हट्ने) २३ गते बिहान १२ः३७ बजे
विरल छायाँ हट्ने : २३ गते बिहान २ः४० बजे
जम्मा अवधिः ५ घण्टा २७ मिनेट
चन्द्रग्रहण खाली आँखाले नै सजिलै अवलोकन गर्न सकिन्छ । वैज्ञानिक अध्ययनअनुसार ग्रहणको मानव जीवनमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने प्रष्ट तथ्य उपलब्ध भएको छ ।




प्रतिक्रिया