चार्ल्स शोभराज : तिहाड जेल तोड्नेदेखि लिएर निडर भएर नेपाल आउनेसम्म


काठमाण्डु – नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन्।

उनी सन् २००३ मा काठमाण्डूमा पक्राउ परेका थिए। दुई विदेशी पर्यटकको सन् १९७५ मा हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो। सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो।

न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न भनिएको छ।

“आफूलाई थुनामा राखिनु गैरकानुनी भएको भन्दै शोभराजले बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेर निवेदन दायर गर्नुभएको थियो। सर्वोच्च अदालतबाट बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएको हो,” अदालतका प्रवक्ता विमल पौडेलले भने। योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो ।

७८ वर्षका शोभराज मुटु रोगबाट पीडित छन् । शोभराज दुई अमेरिकी पर्यटकको हत्याको आरोपमा सन् २००३ देखि नेपालको जेलमा छन् । अदालतले उनलाई रिहा भएको १५ दिनभित्र सुपुर्दगी गर्न आदेश दिएको छ ।

शोभराजको जन्म ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भएको थियो । पिताले उनलाई अपनाउन अस्विकार गरेका थिए । त्यतिबेला भियतनाम फ्रान्सको कब्जामा थियो । फ्रान्सेली उपनिवेशमा जन्मेर उनले फ्रान्सेली नागरिकता लिएका थिए ।

भेष परिवर्तन गर्न माहिर चार्ल्स शोभराजले पर्यटक र युवतीलाई आफ्नो निशाना बनाउँथे । चार्ल्स शोभराजलाई भारत, थाइल्याण्ड, नेपाल, टर्की र इरानमा २० भन्दा बढी हत्याको आरोप लागेको थियो । उनलाई ‘सिरियल किलर’ भन्न थालियो तर २००४ को अगस्ट अघि उनी त्यस्तो कुनै पनि मुद्दामा दोषी ठहरिएका थिएनन् ।

एक अपराधीको रुपमा शोभराज या त झुक्याएर जेलबाट बाहिर आइरहे या त अधिकारीलाई घुस दिएर जेलमा सुविधा हासिल गरिरहे ।

शोभराज भारतबाहेक अफगानिस्तान, ग्रीस र इरानको जेलबाट पनि भागेको विश्वास गरिन्छ । फ्रान्सेली पर्यटकलाई विष खुवाएको मामिलामा उनले भारतको जेलमा करिब २० वर्षको सजाय काटे ।

अपराधको दुनियाँमा प्रवेश

यो मानिन्छ कि सुरुवाती जीवनमा शोभराजले फ्रान्समा साना–तिना अपराध गरे तर सिरियल किलर बन्ने सुरुवात सन् १९६३ मा त्यतिबेला भयो जब उनले एशियाको यात्रा गरे ।

उनको आपराधिक घटनाको शैली सधैँ एउटै हुने विज्ञहरू बताउँछन् । उनी ड्रग्स सेवन गर्ने फ्रेन्च र अंग्रेजी भाषी पर्यटकसँग दोस्ती गर्दथे र उनीहरुलाई लुटेर हत्या गर्ने गर्थे ।

सन् १९७२ देखि १९८२ सम्म शोभराजमाथि हत्याका २० भन्दा बढी आरोप लागेका थिए । यी सबै घटनामा पीडितहरूलाई लागूऔषध खुवाइएको थियो । उनीहरुको घाँटी थिचिएको थियो । मारिएको थियो या त जलाइएको थियो ।

उनी दुई पटक भारतको जेलबाट भागेका थिए । एक पटक तिहार जस्तो उच्च सुरक्षा कारागारबाट पनि उनी भागेका थिए ।

जेलबाट कसरी भागे ?

सन् १९७६ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो तर दश वर्षपछि सन् १९८६ मा उनी तिहाड जेलबाट भागे ।

शोभराजले जेलमा जन्मदिनको पार्टी आयोजना गरेका थिए । यसमा कैदीसँगै गार्ड पनि बोलाइएको थियो ।

पार्टीमा वितरण गरिएको बिस्कुट र अंगुरमा निद्राको औषधी मिसाइएको थियो । केही बेरपछि शोभराज र उनीसँग जेलबाट भागेका चार अन्य व्यक्तिबाहेक अरु सबै निदाए ।

भारतीय अखबारमा आएको रिपोर्टका अनुसार शोभराज बाहिर आउनेमा यति ढुक्क थिए कि उनले जेलको गेटमा तस्बिरसमेत खिचाए ।

रिचर्ड नेभिलको जीवनीमा, चार्ल्स शोभराज भन्छन्, ‘जबसम्म मसँग मानिसहरूसँग कुरा गर्ने मौका छ, म उनीहरुलाई बहकाउन सक्छु ।’

भनिन्छ कि दश वर्षको जेल सजायको अन्त्यमा, उनी जानाजानी भागेका थिए ताकि उनी पुनः पक्राउ परुन् र जेलबाट भागेको अभियोगमा मुद्दा चलाउन सकियोस् ।

यसो गर्दा उनी थाइल्याण्ड सुपुर्दगीबाट बच्न सक्थे । थाइल्यान्डमा उनीमाथि पाँचवटा हत्याको आरोप थियो र उनलाई मृत्युदण्डको सजाय हुने लगभग निश्चित थियो ।

सन् १९९७ मा रिहा हुँदासम्म बैंककमा उनीमाथि मुद्दा चलाउने म्याद सकिएको थियो । सन् १९९७ मा भारतले उनलाई फ्रान्स सुपुर्दगी गरेको थियो ।

नेपालमा पक्राउ

सन् २००३ मा फेरि चार्ल्स शोभराज नेपाल फर्किए र यसपटक यहाँको प्रहरीले पक्राउ गर्न सक्ने अवस्थामा पनि उनी निर्धक्क थिए । उनले यसपटक पत्रकारसँग कुराकानीसमेत गरे । काठमाडौँको एक क्यासिनोबाट उनलाई पक्राउ गरियो ।

नक्कली राहदानीमा यात्रा गरी क्यानाडाली नागरिक र एक अमेरिकी महिलाको हत्या गरेको आरोपमा नेपालले उनीविरुद्ध करिब २८ वर्ष पुरानो मुद्दा फेरि खोल्यो ।

शोभराजले आरोप अस्वीकार गरे तर प्रहरीले आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गर्यो । सन् २००४ मा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

गत वर्ष अप्रिलमा चार्ल्स शोभराजले नेपालको जेलबाट विदेशी मिडियालाई अन्तरवार्ता दिएपछि फेरि चर्चामा आएका थिए । प्रश्न उठिरहेको थियो कि जेलमा रहेका कैदीले मिडियासँग कसरी कुरा गरे रु

बेलायतका दुई पत्रिकामा शोभराजको कैद र उनको भविष्यको योजना बारे अन्तरवार्तामा आधारित रिपोर्ट छापिएको थियो । -अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार

प्रतिक्रिया दिनुहोस
Advertisement