जेलबाटै कसरी बाहिरियो कुख्यात अपराधी चार्ल्स शोभराजको अन्तर्वार्ता ?

जेलबाटै कसरी बाहिरियो कुख्यात अपराधी चार्ल्स शोभराजको अन्तर्वार्ता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विदेशी मिडियामा अन्तर्वार्ता बाहिरिएपछि जेलमा रहेका कुख्यात अपराधी चार्ल्स शोभराज चर्चामा आएका छन् ।

बेलायती ट्याबोलोइड मिडिया सन्डे मिररडेली मेलमा उनको अन्तर्वार्ता प्रकाशित भएपछि चर्चामा आएका हुन् । केन्द्रीय कारागार सुन्धाराले यसविषयमा छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

गत वर्ष लकडाउनका बेला शोभराजको अन्तर्वार्ता बाहिरिएको हुन सक्ने सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । लकडाउनपछि उनलाई भेट्न हालसम्म कोही पनि आएको बाँस्कोटाले जानकारी दिए ।

‘गत वर्ष लकडाउन हुनुअघि नेपालमा रहेकी एक कानुन व्यवासायी भेट्न आउनु भएको थियो। त्यसयता कोहीसँग भेटेको पाइएन,’ उनले भने, ‘कोही मिडियाकर्मी आएर अन्तर्वार्ता लिएको छैन ।’

आन्तरिक छानबिनका क्रममा शोभराजले फोनबाट अन्तर्वार्ता दिएको आशंका गरिएको छ । किनकी उनले आफन्तहरुसँग हप्तामा दुई पटक कुरा गर्न पाउँछन् । शोभराजले बेलायत, फ्रान्स र अमेरिकामा रहेका आफन्तहरुसँग कुराकानी गर्ने जेलर बाँस्कोटाले जानकारी दिए ।

२० जनाभन्दा बढीको हत्या आरोपमा उनी सन् २००३ मा पक्राउ परेका थिए । उनी अहिले केन्द्रीय कारागारमा जन्मकैदको सजाय काटिरहेका छन् ।

शोभराजले आफू केही हप्तामै छुट्न लागेको बताएका छन् । उनले आफू निर्दोष रहेको भन्दै आफू विरुद्धका दुई मुद्दा नेपालमा अवैध रहेको पनि बताएका छन् ।

‘म यी मुद्दामा एकदमै निर्दोष छु । म तीनदेखि चार हप्तासम्ममा छुट्दैछु । यदि मसँग अन्तर्वार्ता लिन चाहनुहुन्छ भने यता आउनुस् र सँगै एउटै फ्लाइटमा फर्कौंला,’ उनले अन्तर्वार्तामा भनेका छन् ।