काठमाण्डु – क्षत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक सेवा सहितको आठ तले भवन निर्माण गर्ने भएको छ । आज एक कार्यक्रमकाबिच काठमाण्डु महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरीप्रभा खड्कीले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
काठमाण्डु महानगरपालिका वडा नं १७ मा रहेका अस्पतालले हाल सञ्चालनमा रहेको अस्पताल सँगैको जग्गामा अस्पतालका संस्थापकको नाममा ‘माउ बद्रि’ भवन निर्माण गर्न लागेको हो । शिलान्यास कार्यक्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका मेयर शाक्यले क्षत्रपाटी निःशुल्क चिकित्सालय नयाँ युगमा प्रवेश गरेको बताउँदै रकम अभावका कारण भवन निर्माण सम्बन्धी कार्य नरोकिने बताए ।
अस्पताललाई महानगरले सहयोग गर्ने बताउँदै बिरामीको उपचारमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले क्षत्रपाटी निःशुल्क चिकित्सालयले काठमाडौं भित्रका कोर सिटीका जनताको सेवामा कुनै कसर बाँकी नराखेको बताइन् । मेयर खड्गीले भनिन्, ‘काठमाण्डुमा फोहोरको समस्या छ, खानेपानीको समस्या छ, त्यसैले स्वास्थ्य संस्थाको धेरै नै महत्व छ ।’ उपमेयर खड्गीले शहरी क्षेत्रभित्र राम्रो सेवा दिने स्वास्थ्य संस्थाको रूपमा सामुदायिक अस्पतालको संख्या भएको बताइन् ।
काठमाण्डुमा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले दाताहरूकै सहयोगमा अस्पतालले अत्याधुनिक विशाल भवन निर्माण गर्ने सपना देखेको बताउँदै सबैलाई सहयोग गर्न आह्वान गरेका छन् काठमाण्डु महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड तथा अन्य दाताहरूले उपलब्ध गराएको थप डेड करोड रूपैयाँ सहित निर्माण सुरू गरिएको अस्पताल दाताहरूबाट संकलित सहयोग रकमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए ।
क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रूपैयाँको कूल पुँजीबाट सुरू भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालीन सञ्चार, यातायात तथा नहर मन्त्री गणेश मान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन शिलान्यास गरेर भौतिक पूर्वाधारमा अघि बढेको अस्पतालले हाल दुई वटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ । हुनेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा मुटु सम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधा समेत रहेको छ ।




प्रतिक्रिया