नेपालमा किन पर्छ धेरै चट्याङ ? थाहा पाउनुस् चट्याङबाट बच्ने केही उपाय

नेपालमा किन पर्छ धेरै चट्याङ ? थाहा पाउनुस् चट्याङबाट बच्ने केही उपाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू, १४ वैशाख– जलवायुसँग सम्बन्धित प्राकृतिक विपत्तिका विविध रूपहरूमध्येको एक हो चट्याङ ।
पूर्वमनसुनको समय चट्याङका कारण उल्लेख्य मानवीय क्षति हुने समय हो । पुर्वमनसुनको समयमा पर्ने चट्याङका कारण नेपालमा २०८२ वैशाखदेखि चैत ३० गतेसम्म कूल ४८ जनाको निधन भयो । त्यसैगरी ३ सय १२ जना घाइते र ७ सय ४३ वटा पशुचौपायमा क्षति भयो । चट्याङका कारण दैनिकजसो क्षतिको विवरण बढ्दै गइरहेको छ ।  आइतबार राति १० बजेदेखि सोमबार बिहान १० बजेसम्मको तथ्याङ्कअनुसार नेपालभर  चट्याङबाट मृत्यु हुनेको संख्या ५ छ । १९ जना घाइते भएका छन् । प्यूठानमा दुर्ई, सिरहा, मोरङ र रोल्पामा एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दाङमा तीन, प्यूठान, मकवानपुर, उदयपुर, जाजरकोट र मोरङमा दुई÷दुई तथा सल्यान, रोल्पा, रुकुमपूर्व, झापा र सुनसरीमा एक÷एक जना घाइते भएका छन् ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वार्षिक चट्याङका कारण एक सयभन्दा बढीको मृत्यु हुने गरेको छ । चट्याङ समुन्द्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युतीय प्रवाह हो । चट्याङ पर्दा वायुमण्डलमा बादलको उचाइ केही मिटरदेखि १० किलोमिटरसम्म हुने गर्दछ । दुई वा दुईभन्दा बढी बादलका झोक्का ठोक्किने प्रक्रियाबाट वायुमण्डलमा गर्जनसँगै असीमित विद्युतीय प्रवाह हुने गर्दछ । यो बादल ठोक्किने प्रक्रियाबाट निस्किएको विद्युतीय प्रवाह वायुमण्डलमा मात्र सीमित रहेको अवस्थामा खतराजन्य नहुन सक्छ । तर जब सो विद्युतीय प्रवाह पृथ्वीसम्म आइपुग्छ, तब मानवीय क्षतिसँगै अरू क्षति पनि हुन सक्छ । बादल र जमिनको ठोक्काइबाट हुने चट्याङले मानवीय क्षति गर्ने गर्दछ ।

वर्षाको समयमा र पानी परेको वा वायुमण्डलमा कालो बादलको गति अत्यधिक भएको समयमा चट्याङ पर्ने गरेको पाइन्छ । चट्याङको वैज्ञानिक आधार चाहिँ विद्युतीय प्रवाह नै भएको बताउँछन् जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारी ।

कसरी बच्ने त चट्याङबाट ?

अग्लाअग्ला भवन, विद्युत पोल र टेलिमक तथा रेडियोका टावरमा चट्याङ पर्ने सम्भावना बढी हुन्छ । तसर्थ चट्याङ पर्दा अपरान्ह र साँझको समय बढी खतरा हुन्छ । त्यसैले यसबाट बच्नका लागि शुरुमा त व्यवस्थित बस्ती प्रणाली अग्ला भवन पोल टावर निर्माण गर्दा विद्युतीय वा पारमाणविक सुरक्षाको प्रवन्ध गर्नु नै चट्याङबाट बच्ने उपाय हो । तर वैज्ञानिक रूपमा चट्याङबाट बच्नका लागि भने अर्थिङ प्रणालीको स्थापना गर्नुपर्दछ । पोल, टावर र अग्ला भवन निर्माण गर्दा अर्थिङ प्रणाली अत्यावश्यक पर्छ ।
ग्रामीण भेगमा अग्ला रुखहरूनजिक घर निर्माण नगर्ने र नबस्ने केही पूर्वसावधानी हुन् । बिजुली चम्किने र चट्याङ पर्ने समयमा जङ्गलमा वा अग्लो रुख भएको स्थानमा नजाने र त्यहाँको यात्रा नगर्ने नै हो ।

चट्याङबाट बच्न केही सावधानी अपनाउन सकिन्छ । जस्तो– चट्याङको खतरा देखियो भने सबैभन्दा पहिले घरभित्र जानुपर्दछ भने घरभित्र रहँदा टेलिफोन वा मोबाइल प्रयोग गर्नु हुँदैन । यसका साथै  रुखमुनि बस्नु हुँदैन भने खुला पानीबाट टाढा रहनुपर्छ । धातुजन्य वस्तु वा उपकरणबाट टाढा रहनुपर्दछ भने मोटरसाइकल, स्कुटर,  र साइकलबाट टाढा बस्नुपर्ने बताउँछन् मौसमविद् अधिकारी ।
यसैगरी बिजुलीको तार, टेलिफोनको तार वा अन्य धातु पाइप, रेल र अन्य धातु मार्गबाट टाढा रहनुपर्दछ । साथै वनमा, साना रुखहरू वा झाडीमा रहँदा बरु सुरक्षित रहन सकिन्छ । अत्यधिक चट्याङ पर्ने स्थानको पहिचान गरी सो क्षेत्रमा पनि सुचालक पोल र अर्थिङ प्रणालीलाई स्थापना गरेको खण्डमा पनि यसको सम्भावित क्षतिबाट बँच्न सकिन्छ ।