काठमाण्डु– बुधबारको हावाहुरीसहित परेको वर्षा र चट्याङले विभिन्न जिल्लामा ४ जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर झापा, मोरङ, रोल्पा र अर्घाखाँचीमा गरेर ४ जनाको मृत्यु भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल झापाको गौरादह नगरपालिका ५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यसका साथै चैत्र २७ गते दिउँसो साढे १२ बजे बर्षा संगै परेको चट्याङले लाग्दा साईकल कुदाईरहेका सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका.१ होक्लाबारी स्थित मामाघरमा आएका १२ बर्षीय बालक आबिस्कार बराल घाईते भएका थिए ।घाईतेको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिल स्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।
यताअर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौरस्थित लिसेपानी गाउँका ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको छ ।
घरको दलानमा बसिरहेका अवस्थामा आज बिहान चट्याङ लागेर बेहोस भएका उनलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य परिवार भने सकुशल छन् ।




प्रतिक्रिया