विदेशमा उपचार गर्न जाने भीभीआईपीलाई पनि सरकारले खर्च दिँदैन : उपप्रधानमन्त्री यादव


काठमाडौं – उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने जो कसैलाई पनि सरकारले रकम नदिने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कसैलाई पनि एक पैसा नदिने बताएका हुन् ।

स्वास्थ्यमन्त्री यादवले नेपालमा उपचार नभएर मात्रै विदेश जाने नगरेको बताउँदै पैसा भएर विदेश जानेलाई भने रोक्न नसकिने उल्लेख गरे । ‘नेपालमा उपचार नभएर मात्रै विदेश जाँदैनन् । नेपालमा सम्भव हुने उपचारका लागि पनि विदेश जाने क्रम बढेको छ’, मन्त्री यादवले भने, ‘पैसा भएर विदेश उपचारमा जानेलाई रोक्न सकिँदैन । तर विदेशमा उपचार गराउने जो कसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ ।’

विदेशमा उपचार गर्न गराउन सरकारी कोषबाट पैसा नपाउने कानुन बनिसकेकाले सर्वसाधारणदेखि अब देशका ठुलै मान्छेको हकमा पनि यो कुरा लागू हुने मन्त्री यादवले बताए । उनले भने, कानुन बनिसकेको छ, ढुक्क हुनुस् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement