काठमाण्डु – कृषि, जडिबुटी तथा वन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेसनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम (एसएमईस्) विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
काठमाण्डुको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा कृषि, जडिबुटी तथा वन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल वाङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतामा दुवै पक्षले कृषि तथा उद्यमशीलता सम्बन्धी जानकारी आदानप्रदान गर्ने, नेपालको बजार अवस्था र व्यावसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने विषयहरू समावेश गरिएका छन् ।
ब्रिज इन्टरनेसनलले नेपालको नवप्रर्वद्धन व्यवसायलाई केन्द्रदेखि स्थानीय तहसम्म प्राविधिक सहयोग पुर्याउने सम्झौतामा उल्लेख गरिएको छ । नेपाल र कोरियाका स्टार्टअपहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी र प्रवर्द्धन गर्ने, व्यावसायिक नेटवर्किङका अवसर सिर्जना गर्ने, मेन्टरशिप र सीप आदानप्रदान गर्ने सहमति भएको छ । २ संस्थाबीच संयुक्त कार्यशाला, प्रशिक्षण र अनुभव आदानप्रदानमार्फत दुवै देशका नवप्रर्वद्धन व्यवसायीलाई लाभ हुने विश्वास गरिएको छ ।
दुवै देशका व्यवसायी तथा उद्यमशील युवाबीच एकअर्काका देशमा भ्रमणमार्फत व्यवसाय प्रवर्द्धन गर्ने, एकअर्काको बजारमा सम्भाव्यताका अवसर खोज्ने र नयाँ सम्भावनाहरू विकास गर्ने योजना पनि सम्झौतामा उल्लेख छ । कोरियाबाट सीप सिकेर फर्किएका युवाहरूको लगत संकलन गरी उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि र व्यावसायिक सञ्जाल विस्तारमा नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने भएको छ ।

खासगरी कृषि व्यवसाय, जडिबुटी तथा वन र साना–मझौला उद्यम विकासलाई प्राथमिकतामा राख्दै गरिएको सहकार्य सम्झौताले नेपालमा उद्यमशीलताको वातावरणलाई थप मजबुत बनाउने चेम्बरले विश्वास व्यक्त गरेको छ । सम्झौताले नेपाली कृषक, उद्यमी र नवप्रर्वद्धन व्यवसायीलाई अन्तर्राष्ट्रिय अनुभव र सीप सिक्ने अवसर दिलाउने मात्र नभई, दुवै देशबीच दीगो आर्थिक साझेदारीको बाटो खोल्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया