बाहिर चिटिक्क, भित्र धुजैधुजा मन्दिर


भक्तपुर – भक्तपुर नगरपालिकाले टौमढीस्थित भैरवनाथ मन्दिरको जीर्णोद्धार गरिरहेको छ। १ करोड ४६ लाख रुपैयाँको लगतमा जीर्णोद्धार भइरहेको छ। स्थानीय न्हुछेराम भेले अध्यक्षताको उपभोक्ता समितिमार्फत धमाधम जीर्णोद्धार भइरहेको छ। असारभित्र जीर्णोद्धार काम सम्पन्न गर्नुपर्नेछ।

०७२ सालको भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पु¥याएको थियो। झिंगटीको छाना भूकम्पपछि हल्लिएर पानी चुहिने भएको थियो। भूकम्पले मन्दिरका भित्री गारो चिराचिरा मात्र पारेन कुनासमेत फाटिएका थिए। दलिन अड्याइएका लफ्फा काठ भाँचिएका छन्। भित्रका गुप्ती कोठामा राखिएका चौकोस उछिट्टिएका छन्। गारोसँगैका थाम धुजाधुजा छन्। मक्किएका थाम भूकम्पले हल्लाएर जुनसुकै बेला ढल्ने अवस्थामा पुगेका छन्। सानो भूकम्पले नै मन्दिर ढलाउन सक्छ। आँखीझ्यालका भित्री चौकोस बाँगिएका छन्।

मन्दिरका नाइकेहरूका अनुसार मन्दिर पूर्वतर्फ करिब ६ इन्च भासिएको छ। भक्तपुर नगरपालिकाले मन्दिरको बाहिरी स्वरूप मात्र जीर्णोद्धार गरेको उनीहरूले आरोप लगाएका छन्। नगरपालिकाले जीर्णोद्धारको बजेट छुट्याएपछि गठित उपभोक्ता समितिले बाहिरी काम मात्र गर्ने भनेपछि नाइकेले विरोध गरे। उनीहरूले जगसम्मै असर गरेकाले पूरै मन्दिर भत्काएर पुनर्निर्माण गर्नुपर्ने माग गरे। तर नगरपालिकाले पूरै भत्काएर पुनर्निर्माण गर्नु नपर्ने जनायो। ६ महिना जीर्णोद्धार सुरु हुन सकेन।

नगरपालिकाले पुरातत्व विभागका पूर्वमहानिर्देशक सुदर्शनराज तिवारीको नेतृत्वमा क्षतिग्रस्त मन्दिरको अध्ययन गरायो। टोलीले मन्दिर अझै बलियो भएको प्रतिवेदन दिएपछि जीर्णोद्धार अघि बढ्यो। माथिल्लो तलाको जीर्णोद्धार भइसकेको छ। सुनको मोलम्मा लगाइएको गजुर र तामाको पाताको छाना चिटिक्क टल्काइएको छ। दोस्रो तलाको झिंगटीको छाना छाइएको छ। अब पहिलो तलाको छाना छाउने उपभोक्ता समितिले जनाएको छ।

जीर्णोद्धार भइरहँदा मन्दिर भासिने क्रम नरोकिएको नाइके माइला छुकाले बताए। जीर्णोद्धारका क्रममा मन्दिर अझै भासिएको उनले दाबी गरे। उनले मन्दिरको भुइँतला र पहिलो तलाको गारोका चिरा अझै फाटेको बताए। ‘जीर्णोद्धारको क्रममा तौल बढेर हो कि मन्दिरको बाहिरी गारोमा चिरा झन् फाटेको छ’, नाइके छुकांले भने, ‘मूलढोकासँगैका गारो अझै फाटिरहेको छ। ’

‘पहिले रौंजत्रा चिरा अहिले डोरी जत्रा भएका छन्’, उनले थपे, ‘पहिलो र दोस्रो तलमा माटो थपेर झिंगटी छाउनै बाँकी छ। यसले भार झन् बढ्छ। ’यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement