भिरबाट ट्याम्पो खसालेको घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन

भिरबाट ट्याम्पो खसालेको घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन


काठमाण्डु– उद्योग पयर्टन वन तथा वातावरण मन्त्रालयले कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ गाईबाँधेमा ट्याम्पोलाई भीरबाट खसालेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

प्रदेश वन निर्देशनालयका निर्देशक डा.हेमराज बिष्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् ।

घटनाको सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

ट्याम्पो खसालेको भिडियो भाइरल भएको थियो । त्यसपछि आइतबार प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय समेतले चासो लिएपछि प्रहरीले सोधपुछका लागि १० जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका १० जना वन रक्षक समेत जुनियर कर्मचारी हुन् ।

वन क्षेत्रको जग्गा अतिक्रमण गरेर ट्याम्पोमा खोका पसल सञ्चालन गरिरहेको अवस्थामा देखिएपछि ट्याम्पोलाई हटाइएको थियो । जिल्ला वन कार्यालय कैलालीले खोका पसललाई हटाउन खोज्दा भीरमा खसेको स्पष्टीकरण दिएको थियो ।